जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार ११:०७

ओली-नेपाललाई यस्तो छ राष्ट्रपतिको सुझाव


काठमाडौं, बैशाख २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । होटल मेरियटमा अध्यक्ष ओली र नेता नेपालबीच भएको छलफलपछि आआफ्नै अडानमा रहेर पार्टी नै बिभाजन हुने अवस्थामा पुगेपछि राष्ट्रपति भण्डारीले दुवै नेतासँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले विहीवार अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालसँग डेढ घण्टा लामो छलफल गर्नुभएको हो । छलफलका क्रममा राष्ट्रपति भण्डारीले दुवै नेतालाई इगो त्यागेर सहमतिमा पुग्न सुझाउनु भएको शीतलनिवास स्रोतले जनताटाइम्सलाई बतायो । राष्ट्रपतिले दलहरु बिभाजन हुनु मुलुकको हितमा नरहेको तथ्य औल्याउँदै इगो त्यागेर सहमतिको बिन्दु खोज्न दुवै नेतालाई सुझाव दिनुभएको छ, राष्ट्रपति सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने ।

कांग्रेस सभापति शेरवहादुर देउवालाई भेटेलगत्तै नेता नेपाल शीतल निवास पुग्नुभएको थियो । उहाँसँग राष्ट्रपतिले डेढ घण्टा छलफल गर्नुभएको हो । राष्ट्रपति भण्डारीसँगको छलफलपछि दुवै नेता एक कदम पछाडि फर्कन तयार भएको स्रोतको भनाई छ ।