काठमाडौं, बैशाख ३० । नेकपा एमाले स्थायी कमिटी बैठकले तत्काल निर्णय गर्नुपर्ने अवस्थामा निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको हो ।
यसैगरी बैठकले पार्टी एकतालाई मजवुत गर्न बिगतका सवै घटना बिर्सने भन्दै माधव नेपालसहित चार नेतामाथि गरिएको निलम्बनको कार्वाही फुकुवा गरेको छ । ‘ बैठकले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरुको गम्भीर समिक्षा गरेको छ । पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवागर्ने निर्णय गरिएको छ,’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

यी हुन निर्णय
प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको चौथो बैठक आज २०७८ वैशाख ३० गते पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । बैठकका निर्णयहरु यस प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको छ ।
१. बैठकले पार्टी केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागार्इंको कोभिड संक्रमणका कारण भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट पार्टीले एकजना असल नेता र दोलखाली जनताले एकजना अब्बल जनप्रतिनिधि गुमाएका छन् । बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उहाँको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।
२. बैठकले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरुको गम्भीर समिक्षा गरेको छ । पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवागर्ने निर्णय गरिएको छ ।
३. पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।
४. सम्माननीय प्रधानमन्त्रीज्यूले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरुका सन्दर्भमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिहरुको प्रबन्ध, अस्पतालहरुको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरुबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकले कोभिड महामारीका कारण ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सबै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रदीप ज्ञवाली
प्रवक्ता
प्रतिक्रिया दिनुहोस्