काठमाडौं, जेठ २६ । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अभियान छेडनुभएका बरिष्ठ नेता माधवकुमार नेपालले आफू नेकपा एमालेमा नफर्कने निर्णय सुनाउनु भएको छ । एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरी माओवादीमा बिलय हुने निश्कर्षसहित आफू एमालेमा नफर्कने निर्णय नेता नेपालले सुनाउनु भएको हो ।
नेपाल निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आफ्नो समुहमा रहेका पाँच नेताले संस्थापनसँग बार्ता अघि बढाएपछि नेपालले आफू निकट केही नेताहरुलाई बोलाएर आफू एमाले फर्कन नसक्ने निर्णय सुनाउनु भएको हो । ‘जो जो बस्न मन लाग्छ, बसुन, मचाँहि अव एमालेमा बस्न सक्दिन, एमालेमा फर्किएर मैले पाउने केही छैन, जो पाउन सकिन्छ भन्ने लागेको छ, बसुन, तर म अव पछाडि फर्कन संभव छैन,’ नेता नेपालको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार नेता नेपालले एमालेमा फर्कदा आफूहरुको केही नचल्ने, नयाँ पार्टी गठन गरी अघि बढदा माओवादी र कांग्रेससँग सहकार्य अघि बढने खाकासमेत राख्नुभएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न हदैसम्मको लचकतासहित अपिल जारी गर्नुभएपछि माधव तनावमा पर्नुभएको छ । अध्यक्ष ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा पार्टी संरचना कायम गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीको सो घोषणालाई एमाले पंक्तिले स्वागत गरेको छ । तर नेता नेपाल भने सो घोषणालाई पनि षडयन्त्र भन्दै एमालेमा थप क्षती पुर्याउँदै कांग्रेस र माओवादीलाई बलयो बनाउनु पर्ने अडानमा हुनुहुन्छ । उहाँको यो प्रस्तावमा दोस्रो तहका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र योगश भट्टराईले ठाडै अस्वीकार गर्नुभएको छ ।
पाँचै जना नेताहरुले पार्टीलाई कमजोर बनाएर कांग्रेस र माओवादी बलियो बनाउने कुरा र एमालेबाट अलग भएर माओवादीमा बिलय हुने कुरा स्वीकार्य नभएको प्रष्ट पार्नुभएको छ । पाँच नेताको यही कुरापछि नेपालले ‘तिनीहरु बसे पनि म फर्कन्न’ भन्दै आफ्नो निर्णय सुनाउनु भएको हो । नेपालको यो अभियानमा अर्का बरिष्ठ नेता झलनाथ खनालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोराले साथ दिनुभएको छ । स्रोतका अनुसार प्रचण्डसँग सहमति गरिसकेको कारण अव एमालेमा फर्कने बिषय आफूलाई स्वीकार्य नहुने बटमलाइनसमेत माधवले सुनाउनु भएको छ ।
नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर अघि बढने बताए पनि माओवादीमै बिलय हुने सहमति गरिसक्नु भएको छ । अध्यक्ष ओलीले अपिल गरेलगत्तै प्रचण्डसँग छलफल गर्न पुगेर नेता नेपालले आफू प्रचण्डकै योजनाअनुसार मात्रै अघि बढने सन्देश दिइसक्नु भएको छ । पन्ध्र बर्ष एमालेको नेतृत्व गरी एकछत्र शासन गर्नुभएका नेता नेपाल अव एमालेमा आफूले केही नपाउने भएको निचोडसहित पार्टीलाई क्षतबिक्षत बनाउने लाइनमा उभिनु भएको र सोहीअनुसार नयाँ पार्टी दर्ता गरी माओवादीमा समाहित गराउने र चुनावमा समानुपातिकमा रहेर सांसद बन्ने सपना बुन्नुभएको पाइएको स्रोतका भनाई छ । एमालेको नेतृत्व गर्दा पनि नेपालले पार्टीलाई कांग्रेस त कहिले माओवादीको पुच्छर बनाउनु भएको थियो । एमाले छाडने निश्कर्ष पनि कांग्रेस र माओवादीकै पुच्छर बन्दाको परिणाम हुने देखिएको छ ।
‘माधव कमरेडको पुच्छरवादले आफ्नै इतिहासमाथि कालो पोत्ने काम गर्यो, बिगतमा पार्टी नेतृत्व गर्दा पनि पुच्छरवादमै रमाउनु भयो, एमालेलाई बलियो बनाउने काम गर्नुभएन, अहिले पनि कांग्रेस–माओवादीकै पुच्छर बन्नुभयो, यो उहाँको राजनीतिक र बैचारिक रुपमा अवशान हो भन्ने कुरा समुहभित्रै जोडदार रुपमा उठेको छ, तर उहाँ एमालेमा फर्कदै फर्कन्न भन्दै धम्की दिन थाल्नुभएको छ,’ नेपाल समुहका स्थायी कमिटीमा रहेका अर्का नेताले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार नेपाल एमालेमा आफूतिर लागेका सवैलाई आफै फोन गरेर साथ दिन भन्दै माओवादी र कांग्रेसबाट जीवनभर साथ पाउने बताउँदै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्