जनता टाइम्स

१६ असार २०७८, बुधबार २०:५१

कर्णाली प्रदेशमा सत्ता जोगाइदिने जीवनबहादुरलाई मुख्यमन्त्रीले दिए प्राडो उपहार


काठमाडौं, असार १६ । २०७७ साल जेठ २२ गतेको कर्णाली प्रदेशसभा बैठकमा बोल्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले भन्नुभएको थियो , ‘हाम्रो प्रदेश गरिब छ, मुख्यमन्त्री र मन्त्रीहरुले समेत गाडी होइन, मोटरसाइकल चढ्नु पर्छ । त्यसपछि उहाँले विपक्षी दलको नेताका हैसियतमा प्रदेशसभा सचिवालयबाट पाएको स्कारपियो गाडी फिर्ता गरेर मोटरसाइकल चढे पछि निकै चर्चा कमाउनु भएको थियो । तर त्यो हातिको दखाउने दाँत जस्तै बन्यो । आजभोली उहाँ मोटरसाइकल चढ्न थालेको डेढ महिनापछि फेरि सरकारी गाडीमा हुइँकिन थाल्नुभएको छ ।

त्यो गाडी उहाँले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाहीको सत्ता जोगाई दिएबापत बक्सीस पाउनुभएको हो । मुख्यमन्त्री शाही ऊर्जा तथा जलस्रोत मन्त्री हुँदाताका नेपाल विद्युत् प्राधिकरणको बा २ झ ५७९३ नम्बरको प्राडो गाडी प्रयोग गर्दै आउनुभएको थियो । ऊर्जा तथा जल स्रोतमन्त्री रहँदै शाहीले कर्णाली प्रदेशसभा सदस्यमा कालीकोटबाट चुनाव लड्नुभयो विजयी पनि हुनुभयो अनि कर्णालीको मुख्यमन्त्री पनि बन्नुभयो तर ।

मुख्यमन्त्री भएपछि उहाँले त्यही प्राडो गाडी प्रयोग गर्दै आउनुभएको थियो । मुख्यमन्त्री शाहीले मन्त्री हुँदा पाएको प्राडो गाडी विद्युत् प्राधिकरणलाई फिर्ता नगरेर आफैँसँग राख्नुभएको थियो । उहाँले मन्त्री हुँदा पाएको सेवा सुविधा मन्त्रीबाट पदमुक्त भएपछि फिर्ता गर्नुपर्नेमा त्यसो नगरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको प्रष्ट बुझन सकिन्छ । ‘त्यो प्राडो गाडी फिर्ता गर्नुपर्थ्यो,’ कर्णाली प्रदेशका एक सांसद भन्नुहुन्छ, ‘मुख्यमन्त्री भएपछि त सरकारी सुविधा उहाँले पाउनु नै भएको छ । यो नियतको कुरा हो ।’

किन राखियो निजी नम्बर प्लेट ?

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि कर्णालीमा त्यसको प्रभाव पर्‍यो । एमालेले मुख्यमन्त्री शाहीको साथ छोडेपछि ३ जेठमा उहाँले विश्वासको मत लिनुपर्ने भयो । शाहीको मुख्यमन्त्री पद बचाउन कांग्रेससँग सत्ता साझेदारी गर्नुभयो अनि एमालेका माधव नेपाल पक्षका चार सांसदले पनि फ्लोर क्रस गरेपछि उहाँको सरकार जोगियो । नेकपा एक हुँदासम्म कांग्रेसका जीवनबहादुर शाही प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो तर उहाँले प्रतिपक्ष दलका नेताको सेवा सुविधा पाउँदै आउनुभएको थियो पछिल्लो समय सरकारलाई समर्थन गरेपछि कांग्रेस पनि सत्तापक्षको भूमिकामा रह्यो । कांग्रेस संसदीय दलका नेता शाहीलाई संसद् सचिवालयले लु १ झ ४२६ नम्बरको गाडी दिएको थियो । सत्तापक्षमा भएपछि उनले संसद् सचिवालयका कर्मचारीमार्फत उक्त गाडी फिर्ता गर्नुभयो ।

सत्ता बचाइदिएर गुन लगाएका शाहीलाई मुख्यमन्त्री शाहीले सोही प्राडो उपहार दिनुभयो । प्रतिपक्षी दलको सुविधा कटेपछि बा२झ ५७९३ नम्बरको सरकारी गाडीलाई मुख्यमन्त्री शाहीले रातो प्लेटमा बा२च ५७९३ नम्बर लेख्न लगाएर कांग्रेस नेता शाहीले दिनुभएको हो । कांग्रेस संसदीय दलका नेता शाहीलाई हिँड्न समस्या भएका कारण उक्त गाडीमा नम्बर फेर्न लगाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । केही दिनेदेखि नेता शाहीले उक्त गाडी प्रयोग गर्दै आइरहनुभएको छ, तर गाडी राख्ने ठाउँ भने मुख्यमन्त्री निवासमै छ,’ स्रोतले भन्यो ।

सरकारी गाडीमा गैरकानुनी रूपमा निजी नम्बर प्लेट

सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर चलाउनु कानुनविपरीत कार्य भएको अधिवक्ता गणेश वलीले बताउनुहुन्छ। ‘सरकारी गाडीमा निजी प्लेट राख्नु कानुनविपरीत कार्य हो,’ उहाँले भन्नुभयो , ‘सरकारको जिम्मेवार तहमा बसेकाले त्यसो गर्नु झनै गल्ती हो ।’ मुख्यमन्त्री शाहीले सरकारी साधनको दुरुपयोग गरेको र सरकारी गाडीको नम्बर बदलेर कानुनको खिल्ली उडाएको एमाले प्रमुख सचेतक गुलावजंग शाहको आरोप छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले त्यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो । मुख्यमन्त्री कार्यालयका अनुसार, बा२झ ५७९३ नम्बरको गाडीमा सरकारी प्लेट नै राखिएको छ । पहिला सुरक्षालगायतका विषयमा समस्या आएपछि केही दिनका लागि निजी नम्बर प्लेट राखेर चलाएको तर अहिले पुरानै नम्बर प्लेट राखेर चलाउने गरिएको मुख्यमन्त्री कार्यालयको दाबी छ ।