काठमाडौं, असार १८ । युरोकप फुटबलको क्वार्टरफाइनलमा आज स्पेनले स्वीटजरल्याण्ड तथा बेल्जियमले इटालीको सामना गर्दैछ । आजको खेलमा अन्तिम १६ मा फ्रान्सलाई हराउँदै खेल प्रशंसकलाई स्तब्ध बनाएको स्वीटजरल्याण्डलाई रोक्न स्पेनका लागि कठिन कार्य हुनेछ ।
बेल्जियमले भने युरोकप फुटबलको साबिक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ । इटालीको अपराजित यात्रा कायमै रहँदा र बेल्जियम उत्कृष्ट लयमा भएकोले दुबैबीचको खेल प्रशंसकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ । युरोकप फुटबलमा स्पेन र स्वीटजरल्याण्डको यो पहिलो भेट हो । यसअघि दुबै टोली विश्वकप फुटबलमा तीन पटक एक अर्काको सामना गरेको छ । सन् १९६६, १९९४ र २०१० को विश्वकप फुटबलमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । स्पेनले विगतमा दुई पटक हराए पनि सन २०१० को विश्वकपमा स्वीटजरल्याण्डले स्पेनलाई स्तब्ध बनाएको थियोे ।
हालसम्म भएको सबै खेलमा स्पेन र स्वीटजरल्याण्डबीच २२ पटक भेट भएको छ । जसमध्ये स्पेनले १६ मा जित र पाँच हार बेहोरेको छ । यता स्वीटजरल्याण्ड युरोकप र विश्वकप फुटबलमा क्वार्टरफाइनलसम्म पुगेको यो चौथो अवसर हो । युरोकप फुटबलको क्वार्टरफाइनलसम्म पुगेको भने यो पहिलो अबसर हो । विश्वकप फुटबलमा तीन पटक क्वार्टरफाइनलसम्म पुगे पनि स्वीटजरल्याण्डले सेमिफाइनलको यात्रा तय गर्न सकेको छैन । विश्वकप फुटबलको क्वार्टरफाइनलमा उसले सन् १९३४ मा चेकोस्लोभाकिया, सन् १९३८ मा हँगेरी र सन् १९५४ मा अष्ट्रिया विरुद्ध हार बेहोरेको छ ।
स्वीटजरल्याण्डले युरोपेली च्याम्पियनशीपको पछिल्लो दुई खेलमा तीन तीन गोल गरेको छ । यसअघिको १५ प्रमुख कुनै पनि प्रतियोगितामा उसले दुई भन्दा बढी गोल गर्न सकेको थिएन । स्वीटजरल्याण्डले अन्तिम १६ मा १२० मिनेटसम्म फ्रान्सलाई ३–३ को बराबरीमा रोकेको थियो । पेनाल्टी शूटआउटमा उसले फ्रान्सलाई हराएर क्वार्टरफाइनलमा स्पेनविरुद्धको भेट गर्ने तय गरेको थियो । लुइस एनरिकको स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकप फुटबलको उपाधि उचालेको छ । उसले अन्तिम १६ मा क्रोएशियाको सामना गरेको थियो । अतिरिक्त समयमा क्रोएशियामाथि स्पेनले ५–३ को जित निकालेर क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड विरुद्धको भेट तय गरेको हो । समूह चरणमा तीन खेलमध्ये एकमा मात्रै जित हात पारेको स्वीटजरल्याण्डले तेस्रो स्थानमा रहँदै नक आउट प्रवेश पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्