काठमाडौं, साउन १९ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकता सम्भव नरहेको निश्कर्ष सुनाउनु भएको छ । लामो समयदेखि फरक पार्टीको अभ्याशमा रहनुभएका बरिष्ठ नेता नेपालले आज आफू निकट सांसदहरुसँगको छलफलमा यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
नेता नेपालले ललितपुरको बालकुमारीमा आज बिहान आफूनिकट सांसदहरूसँग सवा तीन घण्टा छलफल गर्नुभएको थियो । नेता नेपालले आज स्थायी कमिटी सदस्यबाहेक काठमाडौंमा उपलब्ध सांसदहरूसँग नेता नेपालले बिहान ९ बजेदेखि मध्याह्न सवा १२ बजेसम्म छलफल गर्नुभएको हो । छलफलमा नेता नेपालले अध्यक्ष ओलीसँग एकता गर्नु भनेको आफ्नै मृत्यु स्वीकार गर्नुसरह भएको निश्कर्ष सुनाउनु भएको सहभागी एक सांसदले जनताटाइम्सलाई बताए ।
नेता नेपालले पछिल्लो समय कार्यदलले गरेका सहमतिबाट समेत ओली पछि हटेकाले आफूलाई कुरा गर्नसमेत मन नलागेको जिकिर पनि गर्नुभएको छ । ‘ओलीजीले हामीलाई झुक्याइरहनु भएको छ, तैपनि हाम्रा साथीहरू उहाँ सहमतिमा आउनुहुन्छ कि भनेर पछि लाग्नुभएको छ,’ नेपालको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने, ‘यही अवस्थामा ओलीसँग कुनै हालतमा एकता सम्भव छैन, उनीसँग एकता गर्नु भनेको मृत्यू पत्रमा हस्ताक्षर गर्नु सरह हो ।’
नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको हस्ताक्षर फिर्ता लिन पनि असंभव रहेको निर्णय सुनाउनु भएको छ । ‘हस्ताक्षर फिर्ता लिने नलिने भन्ने कुरा पार्टीको एकतासँग सम्बन्धित कुरा हैन, यही अवस्थामा ओलीसित मिल्न जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो,’ नेपालको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्