काठमाडौं, असार २१
सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त हुनुभएको हो । नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई आज नै सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले नियुक्तिपत्र प्रदान गर्नुभयो । उहाँहरुलाई बधाई दिँदै मन्त्री नेम्वाङले सञ्चारका क्षेत्रमा सृजनात्मक प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो । ‘संस्थागत सुधार र सृजनात्मक प्रयोगमा तपाईंहरुले आफ्नो ठाउँबाट योगदान गर्नु हुने नै छ,’ उहाँको भनाइ थियो ।
कार्यक्रमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो । दमक–५ झापा निवासी अधिकारीले गोरखापत्र दैनिक, कान्तिपुर दैनिकलगायतका मूलधारका सञ्चार संस्थामा दुई दशकभन्दा लामो समय काम गर्नुभएको छ । हाल नेपाली बहस डट कमका प्रधान सम्पादक अधिकारी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रहनुभएको थियो ।
ललितपुर महानगरपालिका–८ निवासी ५४ वर्षीया मुखिया नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकास लिनुभएको हो । ओस्कार कलेज अफ फिल्म स्टडीजबाट सिनेमाटोग्राफीमा स्नातक अध्ययन गर्नुभएकी मुखियाले दर्जनौं छोटो तथा फिचर फिल्म निर्माण तथा निर्देशन गर्नुभएको छ । टीयर्स अफ फियर फिल्मका लागि उहाँले किम्फ जुरी अवार्ड जित्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्