काठमाडौं, , असार २२। नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताउनुभयो । सोमवार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको र अहिलेसम्म अनौपचारिक वार्तामा भएका सहमतिबारे छलफल भएको उहाँले बताउनुभयो । आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने उहाँको दावी छ । एमाले स्रोतका अनुसार कार्यदलमा पार्टी एकताको सन्देश दिने मस्यौदामा समेत छलफल भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा संयुक्त वक्तव्य निकाल्ने तयारी छ । यसअघि आइतवार नेपाल निवास पुगेका सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेलले एमाले एक छ भन्ने सन्देश दिन दुवै नेता भेटेर कुरा गर्न र संयुक्त वक्तव्य दिन आग्रह गर्नुभएको थियो । नेपालले आफू त्यसमा सकारात्मक रहेको भन्दै कार्यदलमा छलफल गर्न सुझाव दिनुभएको थियो । त्यसपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावललाई बोलाएर लामो कुराकानी गर्नुभएको थियो । ओलीसँगको कुराकानीपछि रावल पार्टी एकता कायम गराउन अग्रसर भएको उहाँ निकट स्रोतले जनाएको छ ।
माधव नेपाललाई मनाउन सक्ने क्षमता पनि रावलमै रहेकाले ओलीले उहासँग छलफल गरेको बताइन्छ ।कार्यदलमा सहमतिपछि सम्भवतः आज बेलुकासम्म दुई नेताको संयुक्त वक्तव्य आउनेछ । तर वक्तव्यको मस्यौदामा अझै टुंगो नलागेको एमाले स्रोतले जनाएको छ ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी शेरहवादुर देउवासहित माधव नेपाल पक्षले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएर फैसलाको मिति तोकिएको एक साताको अवधिलाई पार्टी एकता कायम गर्ने अवसरका रुपमा लिन एमाले नेतृत्वमाथि दबाब छ ।सर्वोच्च अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने आशयको भाषा राखेर एमालेको सांगठानिक जीवनलाई २०७५ जेठ २ को प्रस्थानविन्दूबाट अघि बढाउने विषयमा वार्ता टोली सहमति नजिक पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्