जनता टाइम्स

२४ असार २०७८, बिहीबार १०:२८

ओलीसँग माधवले राखे तीन शर्त


काठमाडौं, असार २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमै रहन तीन शर्त अघि सार्नु भएको छ । काठमाडौँको मेरियट होटलमा बुधवार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा बरिष्ठ नेता नेपालले तीन शर्त अघि सार्नुभएको हो ।

नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो भए पनि पार्टीको अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा बरावरी हिस्सतासहितको अधिकार दिनुपर्ने तीन शर्त राख्नुभएको हो । ओली र नेपालबीच मेरियटमा साँझ साढे ७ बजेदेखि २ घण्टा छलफल चलेको थियो । छलफलअघि नै नेता नेपालले आफू निकट नेताहरुसँग अध्यक्ष ओलीले पार्टीमा फर्काएर आफूलाई भूमिका बिहीन बनाउने भन्दै दह्रो अडान राख्ने बताउनु भएको थियो ।

बरिष्ठ नेता नेपालको सर्त सुनेपनि अध्यक्ष ओलीले कुनै प्रतिक्रिया जनाउनु भएन । छलफलपछि नेता नेपालले आफैँले केही सञ्चारकर्मीसँग टेलिफोन संवाद गरी आफूहरूको संवाद सकारात्मक नरहेको र ओली माग पूरा गर्न तयार नभएको सन्देश सम्प्रवेषण गराउनुभएको थियो ।

यध्यपी दोस्रो तहका नेताहरू डा भीम रावल र सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र आज नै निष्कष निस्कने जानकारी दिनुभयो । दुइ नेताको बीचमा एमाले एक रहेको विषयमा सन्देश दिन एउटा संयुक्त विज्ञप्ति जारी गरेर अघि बढ्ने विषयमा पनि कुराकानी भएको छ । विज्ञप्तिको भाषाको सम्बन्धमा आजको कार्यदल बैठकले अन्तिम टुंगो गर्नेछ ।