काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सम्हालेको दुईदिनमै अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अगाडि बढाउने हुनुभएको छ । यसअघि सत्तारुढ दलभित्र विवाद हुंदा अगाडी नबढेको एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच सहमती बनेको एक स्रोतको बताएको छ ।
सरकार र अमेरिकाको एमसीसीबीच २०७४ भदौ २९ मा वासिंङटनमा सम्झौता भएको थियो । त्यो बेला अहिलेका प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री हालका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री रहनुभएको थियो ।
अहिले कार्कीको नियुक्तीलाई त्यसैसंग जोडेर हेरिएको छ ।कार्कीले नै नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको थियो ।
तर, नेकपाका कतिपय नेताहरुले त्यसलाई राजनीतिक एजेण्डा बनाएका थिए । सम्झौताका कतिपय बुँदालाई लिएर विवाद उत्पन्न हुँदा एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस एमसीसीलाई जसरी भएपनि पारित गराउने पक्षमा छ । कांग्रेसले केन्द्रिय समितिबाट नै एमसीसीको पक्षमा निर्णय लिने बताइसकेको छ भने यता नेकपा एमाले पनि एमसीसी का केही बुदाँहरु सच्चाएर सम्झौता पारित गर्ने पक्षमा छ । ‘उहांहरुबीच गठबन्धन हुनुपुर्व नै तीनै जना नेताहरुबीच परिमार्जनसहित एमसीसी पारित गर्ने सहमती भइसकेको छ । अव चाँडै नै यसलाई पारित गर्ने तयारीमा हामी छौं,’ सत्तारुढ दल माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताउनुभएको छ ।
एमसीसी सम्झौता कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकाले कांग्रेस जसरी पनि एमसीसी पास गराउने पक्षमा छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै विरोध गरेको माओवादी केन्द्र पनि एमसीसी सम्झौता पारित गराउन सहमत भइसकेको छ । एमाले अध्यक्ष ओलीले यसअघी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी राजदूत रेण्डी वेरीसंगको भेटमा समेत आफु सरकारमा आएको बेला एमसएसी पारित गर्ने आश्वासन दिएको एक अन्तवार्तामा खुलासा गर्नुभएको थियो । ‘ओलीको वर्हिगमनका लागि गठबन्धन गर्दा कांग्रेस सभापति देउवा र दाहालबीच एमसीसीबारे फरक–फरक धारणा थियो । दाहालले एमसीसी परिमार्जनसहित पारित गर्ने सहमती जनाएसंगै गठबन्धन अघि बढेको हो । अव त्यसमा कुनै समस्या हुंदैन,’ माओवादी स्रोतले भन्यो ।
एमसीसी सम्झौता २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नेपाल सरकार र एमसीसीबीच भएको सहमति अनुसार नै संसदमा प्रस्ताव दर्ता गरिएको थियो । तर, दलहरुबीच विवाद हुंदा उक्त सम्झौता लामो समयदेखि अलपत्र परेको थियो । सभामुख अग्नी सापकोटासमेत त्यसलाई अघि बढाउन इच्छुक थिएनन् । यद्यपी उनले आफु सभामुख हुनुअघि नै अमेरिकी अधिकारीहरुलाई भेटेर आफु त्यसमा बाधक नबन्ने प्रतिवद्धता जनाएको बताइन्छ । सम्झौतामा कतिपय अपमानजनक सर्तहरू राखिएको र त्यसले नेपालको निर्णय गर्न सक्ने स्वतन्त्रतामा प्रभाव पर्न सक्ने आरोप तत्कालिन नेकपाका नेताहरुले लगाएका थिए । उनिहरुले अनुदान लिँदा तिनलाई सच्याएर स्वीकार्नुपर्ने अडान राख्दै आएका थिए ।
तर, बदलिएको परिस्थितिमा भने उनिहरु त्यसलाई अघि बढाउन सहमत देखिएका छन् । लामो समयदेखि विवादित सम्झौतालाई अघि बढाउन प्रमुख पार्टीहरु सहमत भएपछि उक्त सम्झौता कार्यान्वयनमा जाने भएको हो । एमसीसी सम्झौता संसदको आगामी बैठकबाट पारित गर्ने तयारी सत्तारुढ दलहरुको छ । अमेरिकाले सम्झौता इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको होइन भनेर प्रतिवद्धता जनाइसकेको छ । तर, त्यसमा थप प्रतिवद्धता खोज्ने र अनि संसदबाट त्यसलाई अनुमोदन गराउने सत्तारुढ दलका नेताहरुको तयारी छ ।













प्रतिक्रिया दिनुहोस्