जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १७:१३

माधवमाथि भीम रावलको गम्भीर अभियोग, राजीनामा पत्रमै खुलाए क्षमा दिनै नमिल्ने पाँच अपराध


काठमाडौं, साउन ३ । एमाले उपाध्यक्ष भीम रावलले बरिष्ठ नेता माधवकुमार नेपालमाथि गम्भीर अभियोग लगाउनु भएको छ । उपाध्यक्ष रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामामा बरिष्ठ नेता नेपालमाथि गम्भीर अभियोग लगाउनु भएको हो ।

‘राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी ब्यवहार तथा देश, जनता र पार्टीको हित भन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वाैपरी संझने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ, यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनताबिरोधी राजनीतिक अभ्याशको मतियार हुनुभन्दा त्ययसबाट अलग हुनु श्रेयकर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु,’ रावलले राजीनामा पत्रमा लेख्नुभएको छ ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो । उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो ।