काठमाडौं, साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ता आएसँगै नेपाल प्रहरीमा सरुवा–बढुवामा मोलमोलाइ सुरु भएको छ । समाचार स्रोतका अनुसार देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रहरीको सरुवा बढुवामा मोलमोलाई सुरु गर्नुभएको हो ।
आर्थिक लाभबिना कुनै काम पनि नगर्न गृहमन्त्री पत्नी मञ्जुकै योजनाअनुसार प्रहरीमा एआइजी सरुवा तथा पदस्थापन भएको महिनादिन पुग्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । गृहमन्त्री खाँणले पदबहालीकै दिन एआइजी सरुवा तथा पदस्थापनको निर्णय कार्यान्वयन नगर्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएपछि सवै एआइजी सरुवा भएको स्थानमा नगई पुरानै कार्यालयमा कार्यरत रहेका छन । गृहमन्त्री पत्नी मञ्जुको मोलमोलाइकै कारण एआइजीको सरुवा कार्यान्वयनमा नआएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले असार २४ गते एआइजीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मन्त्रिपरिषदले अहिलेसम्म उल्ट्याएको छैन तर कार्यान्वयन पनि हुन सकेको छैन ।
प्रहरी प्रधान कार्यालय प्रशासन बिभागमा कार्यरत एक अधिकृतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार एआइजीको सरुवा कार्यान्वयन नहुनुमा गृहमन्त्री पत्नीकै दवाव रहेको छ । ती अधिकृतका अनुसार गृहमन्त्री पत्नी मञ्जुले सवैजसो एआइजीसँग मोलमोलाईका लागि मानिस नै खटाउनु भएको छ भने कतिपयसँग आफै डिल गर्नुभएको छ । ती अधिकृतका अनुसार मञ्जुले प्रहरी जवानदेखि एआइजीसम्मको सरुवा र बढुवाका लागि दररेट नै तोक्ने गर्नुभएको छ । एक जना प्रहरी जवानलाई भनेको ठाउँमा सरुवाका लागि ५० हजार देखि डेढ लाखसम्म रेट सुनाएको ती अधिकृतले जनताटाइम्सलाई बताए ।
‘सिपाहीसम्मको सरुवामा पनि आर्थिक लेनदेन सुरु हुन लाग्यो,’ ती अधिकारीले भने । ती अधिकृतका अनुसार गृहमन्त्री पत्नी मञ्जुलाई सरुवाका लागि भनसुनमा पुगेका एक प्रहरी अधिकृतलाई ठाडै पैसा माग भएको थियो । ‘मन्त्राणीले पैसा माग्नुभयो, कसरी दिने ? बरु सरुवा नै नहुने अवस्था आयो साप भन्दै एक जना अधिकृतले हामीसँग गुनासो गरे,’ उनको भनाई छ । गृहमन्त्री पत्नी खाँणमाथि बिगतमा पनि आर्थिक लेनदेनका आधारमा प्रहरीको सरुवा बढुवा गर्ने गरेको आरोपलाग्दै आएको थियो । यसपटक पति नै मन्त्री भएपछि मञ्जुको सक्रियता निकै बढेको स्रोतको भनाई छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सरुवा बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पनि उत्तिकै सक्रियता देखाउनु भएको छ । आरजुकै दवावमा सरकारमा आएको केही दिनभित्रै बलात्कार आरोप लागेको एसएसपी शौरभ राणालाई डिआइजीमा बढुवाका लागि सिफारिश गराउन सफल हुनुभएको थियो । गृहसचिव, आइजीपी र एआइजी तीनै जनाले अस्वीकार गर्दा चर्काे दवाव दिएर राणालाई बढुवा सिफारिश गराइएको प्रधान कार्यालय स्रोतको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्