जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार ०९:३४

माधवको कुरा सुनेर कार्यदलका नेताहरु चकित


काठमाडौं, साउन १७ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले छलफलका लागि आएका आफ्नै समुहका प्रभावशाली नेताप्रति आफ्नो बिश्वास टुटिसकेको बताउनु भएको छ । स्थायी कमिटी बैठक रोक्न लगाएर छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुसँग माधवले आफ्नो बिश्वास टुटिसकेको र आफू धेरै अगाडि बढिसकेको भन्दै एकताको च्याप्टर क्लोज गर्न भन्नुभएको हो ।

माधवसँग एमाले उपाध्यक्ष रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरुले शनिवार भेटनुभएको हो । सो भेटमा माधवसँग रावलले १० बुँदे सहमति मान्ने कि नमान्ने ? भन्ने प्रश्न राख्नुभएको थियो । ओलीले १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरिसकेको भन्दै १० बुँदेमा टेकेर ओलीसँग पावर शेयरिङको लागि कुरा गर्न पनि नेताहरुले नेपाललाई सुझाउनु भएको थियो । तर नेपालले ओलीको जालझेल र षडयन्त्रमा आफू नफस्ने भन्दै दोस्रो अध्यक्ष जसलाई बन्न मन छ बने हुन्छ भन्ने जवाफ दिनुभएको एक नेताले जनताटाइम्सलाई बताए । ती नेताका अनुसार नेता नेपाल आफूलाई भेट्न आएका पाँचै जना नेतासँगै आफ्नो बिश्वास टुटेको भन्दै रिसाउनु भयो ।

एमाले एकताका लागि आज निर्णायक दिन हुने बताइएको छ । आजै प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भन्दै माधवसँग अन्तिम निर्णय माग्नुभएको छ । माधव देउवा सरकारमा जाने निर्णयमा हुनुहुन्छ । अहिलेसम्म दोस्रो तहका नेताहरुको दवावका कारण माधवले निर्णय नगरे पनि अव ढिला नगरी सत्ताको स्वादमा रमाउने उहाँको योजना छ । यही तथ्य बुझेर नेताहरुले माधवलाई सम्झाउन जाँदा कार्यदलका सदस्यप्रति नै आफ्नो बिश्वास टुटेको माधवको रुखो बचन भेटनु परेको छ ।

‘तपाई के गर्ने ? भनेर सोध्यौं तर माधव कमरेडले हामीप्रति नै भरोसा देखाउनुभएन । उहाँको छलफल अचेल हामी भन्दा अरुसँग नै बढी हुने गरेको छ । घटनाक्रम हेर्दा माधव एमालेमा नआउने, देउवा सरकारमै जाने पो देखियो,’ माधवलाई भेटेपछि जनताटाइम्ससँग अर्का नेताले भने ।