काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि नै घात गर्नुभएको रहष्य खुलेको छ । प्रचण्डले नारायणकाजीलाई सरकारमा जानबाट रोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग भित्री साँठगाँठ गरेको तथ्य देउवाले नै बाहिर ल्याउनु भएको हो ।
बालुवाटार निकट स्रोतका अनुसार प्रचण्डले नारायणकाजीलाई सरकारमा आउन नदिन प्रधानमन्त्रीले नै सहयोग गरिदिनु पर्ने प्रस्ताव राख्नुभएको छ । ‘हाम्रोतिरबाट नारायणकाजी नेतृत्व गरेर सरकारमा आउन जिद्धि गरिरहेका छन, उनलाई सरकारमा पठाउन मलाई मन छैन, तपाईंले उपप्रधानमन्त्री दिन सकिन्न भनिदिनु पर्यो उस्कै (नारायणकाजी) सामुन्नेमा,’ प्रधानमन्त्री देउवासँग प्रचण्डको प्रस्ताव उधृत गर्दै बालुवाटार स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार देउवाले प्रचण्डको यो प्रस्ताव केही निकट नेतासँग चुहाउनु भएको छ । मन्त्रिपरिषद बिस्तारको अन्तिम तयाी भइरहेको बेला प्रचण्डले नारायणकाजी रोक्न प्रधानमन्त्री प्रयोग गरेको जानकारी श्रेष्ठले पाइसक्नु भएको छ । सोही कारण श्रेष्ठ रिसाएर बसेपछि प्रचण्ड पनि तनावमा पर्नुभएको खुमलटारतिर चर्चा छ ।
सत्तारुढमध्ये मुख्य दल नेकपा माओवादी केन्द्रमा अहिले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निकै ठूलो चलखेल भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल श्रेष्ठलाई सरकारमा पठाए पार्टीबाट नेतृत्व गर्ने भएकोले सकेसम्म रोक्न चाहिरनु भएको छ । प्रवक्ता श्रेष्ठ भने आफ्नोको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा हुनुहुन्छ । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्दा उपप्रधानमन्त्रीसहित जिम्मेवारी दिनुपर्ने अडानमा श्रेष्ठ हुनुहुन्छ । तर प्रचण्डले नारायणकाजी रोक्न देउवालाई कन्भिन्स गरिसक्नु भएको पाइएको छ । ‘मैले भनेर उस्लाई रोक्न सक्ने अवस्था छैन, तपाईले नै रोकिदिनु पर्छ’ भन्दै प्रचण्डले केही दिनअघि प्रधानमन्त्री देउवालाई भन्नुभएको थियो । सोही अनुसार देउवाले नारायणकाजीकै सामुन्ने उपप्रधानमन्त्री दिन नसकिने जवाफ दिनभएको स्रोतको भनाई छ । देउवाको सो भनाईपछि श्रेष्ठ प्रचण्डले षडयन्त्र गरेको भन्दै फायर हुनुभएको स्रोतले बतायो ।
नारायणकाजी जस्तो अप्ठ्यारो मान्छे कोही छैन, मन्त्री बने भने तपाई हामीलाई काम गर्न सारै गाह्रो पार्छन, सवै कुरा अन्तै बताइ दिन्छन

स्रोतका अनुसार प्रचण्डले देउवालाई नारायणकाजी जस्तो अप्ठ्यारो मान्छे कोही नभएको भन्दै मन्त्रिपरिषदमा सामेल गराउँदा सवै कुरा खोलिदिने चिन्ता जनाउनु भएको छ । ‘नारायणकाजी जस्तो अप्ठ्यारो मान्छे कोही छैन, मन्त्री बने भने तपाई हामीलाई काम गर्न सारै गाह्रो पार्छन, सवै कुरा अन्तै बताइ दिन्छन,’ देउवासँग प्रचण्डको भनाई उधृत गर्दै बालुवाटार स्रोतले जनताटाइम्ससँग भन्यो ।
प्रधानमन्त्री देउवाले श्रेष्ठलाई उपप्रधानमन्त्री दिन नसकिने जनाउ दिएपछि माओवादीमै हल्लीखल्ली मच्चिएको छ । एकाथरी नेताहरु देउवाले माओवादीभित्र खेल्न खोजेको बताएका छन भने अर्काथरी नेताहरुले प्रचण्डको सकुनी चाल भनेका छन । प्रचण्डसँग असन्तुष्ट बनेपछि श्रेष्ठलाई फकाउन आज प्रचण्डले शीर्ष नेताहरुसहितको बैठक हरिसिद्धिस्थित नारायणकाजी श्रेष्ठकै निवासमा राख्नुपरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा राखिएको स्थायी समिति बैठकमा समेत अनुपस्थित हुने स्थिति देखिएपछि प्रचण्डले नेता श्रेष्ठको निवासमा बैठक राख्नुभएको माओवादीकै केही नेताहरुले जनताटाइम्सलाई बताए ।
‘प्रकाश (नारायणकाजी) कमरेड फायर हुनुभएको रहेछ, फकाउन सिएम (प्रचण्डलाई माओवादी नेताले गर्ने सम्बोधन) ले उनकै घरमा बैठक राख्नुभएको हो,’ प्रचण्ड निकट अर्का नेताले जनताटाइम्ससँग भने । श्रेष्ठ निवासमा बसेको बैठकमा प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणी पोखरेललाई बोलाउनु भएको थियो । श्रेष्ठ फकाउन गरिएको बैठकमा पनि उहाँले आफूलाई प्रचण्डले उपप्रधानमन्त्रीसहित पार्टीबाट नेतृत्व गराएर महत्वपुर्ण मन्त्रालय दिलाउनु पर्ने प्रष्ट कुरा राख्नुभएको स्रोतले जनायो ।
‘प्रचण्डले चाहेको कुरा देउवाले रोक्नै सक्दैनन भन्ने घाम जत्तिकै छर्लंग छ, प्रधानमन्त्रीले होइन प्रचण्डले नै यो सरकार चलाउने हो भनेपछि कसरी हाम्रो पार्टीलाई पहिलो उपप्रधानमन्त्रीबाट रोक्न सक्छन र ? उताको (देउवा) चाहनाले होइन, यताको (प्रचण्ड) चाहनाले चाँहि पक्कै निर्धारण होला,’ प्रचण्डलाई श्रेष्ठको भनाई उधृत गर्दै उहाँ निकट एक नेताले भने ।













प्रतिक्रिया दिनुहोस्