काठमाडौँ, २२ साउन। नेपाली कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा सामाजिक सञ्जालमा चलिरहेको गाईजात्रा बन्द गर्न निर्देशन दिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाको सचिवालयलाई विशेष आग्रह गर्दै तत्काल गाई जात्रा बन्द गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘जीवनको हरेक क्षण देश,जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदर्णिय शेर बहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालय लाई बिशेष अनुरोध गर्दछु ।’ जब कुनै व्यक्तिको स्वस्फुर्त प्रशंसा हुन्छ, त्यो प्रशंसाले उसको कद बढाउँछ। तर जब व्यक्ति सुनियोजित रूपमा आफ्नो प्रशंसाको पुल बाँध्न थाल्छ तब त्यसले उसको कद बढाउँदैन, बरू ऊ समाजमा खिसीट्युरीको विषय बन्छ। देउवा अहिले त्यस्तै आत्मप्रशंसा र प्रोपागान्डामूलक भिडिओका कारण खिसीट्युरीको विषय बनेका हुन । केही दिनदेखि देउवाको बखान गरेर विभिन्न व्यक्तिका भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।
देउवालाई ‘महान नेता’को पगरी गुथाउने उद्देश्यले बनाइएका यस्ता भिडिओका सर्जक को हुन् ? कुनै नेताको गुणगानमा शब्द खर्चेर र समाजका विभिन्न व्यक्तिबाट उनको पक्षमा तारिफको पुल बाँध्न लगाएर कसले यस्ता भिडिओ बनाइरहेको छ ?
हामीले यसबारे बुझ्दा यो काम देउवाको सचिवालयले नै गरिरहेको थाहा भएको छ। व्यक्तिगत रूपले प्रधानमन्त्री देउवाको बढाइचढाइ गरिएका यस्ता ‘प्रोपागान्डा’ भिडिओहरू उनको आधिकारिक फेसबुक वा ट्वीटरमा राखिएका छैनन्। उनका फ्यानले खोलेको भनिएको अकाउन्टबाट यसलाई बाहिर ल्याउने गरिएको छ। यो अकाउन्टको सञ्चालन भने देउवाको सचिवालयले नै गर्छ। देउवाको प्रचार÷प्रसारमा खटिएको सचिवालयका सदस्यअनुसार सात/आठ जनाको टिम नै यो काममा जुटेको छ। त्यही टिमले भिडिओका लागि पात्र चयन गर्नेदेखि खिच्ने, सम्पादन गर्ने र सार्वजनिक गर्नेसम्म गरिरहेको छ।
यसरी विभिन्न व्यक्तिहरू खडा गरेर बढाइचढाइ तारिफ गर्न लगाउने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने योजनाबारे देउवालाई जानकारी छ कि छैन भन्ने प्रश्नमा यसमा देउवाको सहमति रहेको र उनले भिडिओ हेरेपछि नै अन्तिम रूप दिने गरिएको एक स्रोतले बतायो।














प्रतिक्रिया दिनुहोस्