काठमाडौं, साउन २४ । नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपाल आफ्नै समुहका नेताहरुसँग आक्रोेशित बन्नुभएको छ । नेता नेपालले केन्द्रीय कमिटीमा रहेका आफ्ना समुहका नेताले आफूलाई साथ नदिएको भन्दै कार्यकर्ताबीच आक्रोश पोख्नुभएपछि यो तथ्य बाहिर आएको हो । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने र एमाले एकता हुने सम्भावना आफूले नदेखेको तर भीम रावलसहितका नेताहरुले आफ्नो कुरा नमानेको बताउनु भएको हो ।
माधव समुहको केन्द्रीय सदस्यहरुको बैठकले १० बुँदे सहमतिलाई टेकेर अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट शनिवार नै नेता नेपालले आफू तयार नभए पनि दोस्रो तहका नेताहरुको कारण एकतातिर आउनु परेको गुनासो पोख्नुभयो ।एमाले दोलखाका कार्यकर्तासँग भर्चुअल बैठकमा बोल्दै नेपालले अध्यक्ष ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको र आफ्नै समुहको नेताहरुको कारण पार्टी एकताका लागि अन्तिम मौका दिनुपरेको बताउनु भयो । बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार सम्बोधनको क्रममा नेपालले आफ्नो समूहका दोस्रो तहका नेताहरुप्रति निकै आक्रोशित बन्नुभएको छ ।
दोस्रो तहका नेतामा दम नभएको र ओलीसामू लम्पसार परेको नेपालको भनाई थियो । ‘केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ?त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? नेपालको आक्रोश उधृत गर्दै ती सदस्यले जनताटाइम्ससँग भने, मलाई त्यो मन्जुर छैन् । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’
नेता नेपालको यो आक्रोश उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यतर्फ लक्षित थियो । माधव समुहको बैठकमा उहाँहरु एकताको पक्षमा उभिएपछि नेता नेपालले १० बुँदे सहमति स्वीकार गर्न बाध्य हुनुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गराउन नेपालले बोलाउनु भएको बैठक उल्टो भएपछि कार्यकर्ताबीच आफ्नै समुहका नेताहरुमाथि नेपाल खनिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्