जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार १६:५६

प्रचण्डलाई सवक सिकाउन चितवन एमालेले अघि बढायो रणनीतिक तयारी


चितवन, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधव नेपाल समूहले सदस्यता नवीकरण रोक्नुपर्ने माग राखिरहेको बेला जिल्ला जिल्लामा एमालेले नवीकरण अभियानै सञ्चालन गरिरहेको छ । केन्द्रको विवादलाई बेवास्ता गर्दै जिल्ला तहका नेताहरुले यतिबेला पार्टी कामलाईतीब्रता दिएका हुन ।

यही अभियान अन्तर्गत एमाले चितवनले अभियान अघि बढाएको छ । एमाले चितवन जिल्ला कमिटी अध्यक्ष पार्वती रावलका अनुसार माओावदीसँगको एकताका नाममा एमालेको श्रृखंलावद्ध संगठनात्मक पद्धति भत्किएकोले त्यसलाई पुनर्निर्माण गर्न पार्टी लागि परेको छ । फागुन १ गते चितवन जिल्लामा रावलको अध्यक्षतामा ६ सय ९९ सदस्यीय कमिटी गठन भएको थियो । चितवनमा एक महानगरसहित सात वटा स्थानीय तह, ९८ वटा वडा र दुईवटा विशेष शाखा कमिटीहरु सक्रिय छन । बीपी कोइराला क्यान्सर अस्पताल र कृषि विश्व विद्यालयभित्र एमालेले अलग्गै कमिटी निर्माण गरेको छ ।

अध्यक्ष रावलका अनुसार पार्टीको मुख्य आधारको रुपमा रहेको पार्टी सदस्यता नवीकरणलाई चितवन जिल्ला कमिटीले प्राथमिकताका साथ अघि बढाएको छ । भदौं २७ अर्थात बुधवारभित्र अधिकांश सदस्यता नवीकरण भइसक्ने अनुमान अध्यक्ष रावलको छ । ‘पार्टीको जगको रुपमा रहेको सदस्यता नवीकरण निरन्तर जारी छ । केहीले केन्द्रको विवाद मिलेसम्मका लागि पर्खौं भन्नुभएको छ,’ रावलले भन्नुभयो ‘तर नवीकरणमा देखिएको उत्साहले हामी आशावादी छौं ।’

चितवनका सातवटा स्थानीय तह मध्ये पाँचजना मेयर एमालेतिर छन । त्यसमा चारजना संस्थापनमा खुलेका छ्न भने एकजना कतातिर लाग्ने भन्ने दोधारमा रहेका छन । ५५ वटा वडा एमालेले जितेकोमा ३० जना वडाध्यक्ष संस्थापनमा खुलेका छन् । २५ जनाजतिले केन्द्रको विवाद टुंगिएपछि कित्ता स्पष्ट गरौंला भनेको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अघिल्लो पटकको स्थानीय तहको मेयर मतपत्र चबाएर जितेको सबैले बुझेका कारण यसपटक माओवादीको आकर्षण कमजोर छ । तथापी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्वाचन क्षेत्र र उहाँकै छोरी भरतपुरकी मेयर भएका कारण शक्ति र स्रोतको व्यापक परिचालन छ भरतपुरमा ।

‘केही प्रतिकूलताका बाबजुत पनि हामी निरन्तर पार्टी काममै छौं । महानगरमा ६ हजार जना सदस्य हुन । अधिकांशले नवीकरण गरिसक्नु भएको छ,’ न्यौपानेले भन्नुभयो, ‘नवीकरण गर्ने काममै शिलशिलामा हामी धेरै कार्यकर्ता र मतदाताको घरघरमा पुगिसकेका छौं । त्यो क्रम अझै जारी छ ।’ महानगर अध्यक्ष न्यौपानेका अनुसार पार्टीको कामका सिलसिलामा जनताका घरमा पुग्दा एमाले र केपी शर्मा ओलीको सरकारका बारेमा जनतालाई धेरै भ्रम छरेको पाइएको छ । ती भ्रम र धारणाहरुलाई चिरेर वास्तविक कुरा बताएपछि सदस्यता नवीकरणमा सहज र आकर्षण पनि बढेको छ ।

कोरोनाका कारणले जनमानस परिचालन गरेर पार्टीका कामहरु सञ्चालन गर्न समस्या आएको छ । तथापी जिल्ला सम्बिन्धत कमिटी,जनप्रतिनिधीहरु गरेर करिब ५५ जनाको नेतृत्वको टिमको टिम निरन्तर परिचालित भइरहेको छ । सांसद कृष्णभक्त पोखरेलका अनुसार पार्टीको विवादले कार्यकर्तामा केही दोधार देखिए पनि यसले मूर्त रुप पाउन मुस्किल छ । ‘माधव नेपालहरुले नयाँ पार्टी बनाउनु भयो भने पनि कार्यकर्ताहरु एमालेतिरै बस्छन । विवाद मिलेर एउटै ठाउँमा भइयो भने त हामी झनै बलियो भयौं,’ पोखरेलले भन्नुभयो ।

पोखरेलको संयोजकत्वमा एमाले चितवनले एउटा कार्यदल बनाएको छ । जसले माधव नेपाल पक्षतिर झुकाव राखेका एमालेका जनप्रतिनिधि र अन्य नृेताहरुसँग निरन्तरर संवाद गरेर संस्थापन पक्षमा समाहित गराउने काम गरिरहेको छ । चितवनमा रामबहादुर थापा बादल एमालेतिर लागेपछि त्यसले थुप्रै माओवादीहरु एमालेतिर प्रवेश गरेका छन् ।