काठमाडौं, साउन २७ ।
नेपाल बिद्युत प्राधिकरणको नेतृत्वमा पुनः फर्कनुभएका कुलमान घिसिङले पदबहालीमै आफू खुसीसँगै त्रसित पनि रहेको तथ्य खोल्नुभएको छ । उर्जा मन्त्रालयबाट नियुक्तिको पत्र बुझेर बिद्युत प्राधिकरणमा पदबहाली गर्न आइपुग्नु भएका घिसिङले पदबहालीमै बिगतको आफ्नो सफलतामा अवको कार्यकालले पानी खन्याउने पो हो कि भनेर त्रसित बनेको खुलासा गर्नुभएको हो ।
पदबहालीपछि उहाँले बिगतमा भन्दा अहिले निकै ठूलो चुनौती रहेको भन्दै कतै बिगतमा जसरी सफलता पाउन नसकिने हो कि भन्ने चिन्ता रहेको तर सवैको सहयोग लिएर सफलतातिर जाने बताउनु भयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौं । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।”
आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो । अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौं, काँधमा काँध मिलाएर अगाडि बढौं, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”
आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । यसअघि २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाउनुभएको थियो ।
निर्माणाधीन आयोजना सम्पन्न गर्ने अठोट
प्राधिकरणमा आयोजित पदबहाली समारोहलाई सम्बोधन गर्दै उहाँले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने उल्लेख गर्नुभयो । प्राधिकरण आफैको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।
रसुवागढी, माथिल्लो साञ्जेन, तल्लो साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना चिलिमेका सहायक कम्पनीमार्फत अगाडि बढेका छन् । यस्तै, राहुघाट, माथिल्लो त्रिशूली थ्री बी जस्ता आयोजना समेत समयमै सम्पन्न गराउनेतर्फ आफू लाग्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै अन्य केही ठूला आयोजनाको काम शुरु गर्ने गरी आवश्यक तयारी भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । माथिल्लो अरुण, दूधकोशी, तामाकोशी पाँचांै र चैनपुर सेतीको वित्तीय व्यवस्थापन गरेर सकेसम्म स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनासमेत उहाँले सुनाउनुभयो ।
माथिल्लो तामाकोशी सञ्चालनमा आउँदा त्यसले वार्षिक रुपमा झण्डै रु २० अर्ब बराबरको आम्दानी गर्ने भएकाले ठूला आयोजना अगाडि बढाउन स्रोतको कुनै अभाव नहुने उहाँले उल्लेख गर्नुभयो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाबाट ऋण लिएर भए पनि आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
वितरण प्रणालीमा सुधार र गुणस्तरीय बिजुली
वितरण प्रणालीको सुधार तथा औद्योगिक क्षेत्रमा बिजुली खपत बढाउने योजनाका साथ आफूले काम गर्ने उहाँको प्रष्टोक्ति छ । यस्तै, बिजुली नपुगेका नागरिकको घरमा बिजुली पुर्याउनका लागि सबैका साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ । हाल ९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क उहाँले पेश गर्नुभयो ।
बाँकी रहेको स्थानमा पनि एकाध वर्षभित्र बिजुली पुर्याउने, तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापाना गर्ने आफ्नो योजना रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै, गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
देशभित्रै नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने र बढी भएको बिजुली मात्रै भारत तथा बङ्गलादेशको बजारमा पठाउन सकिने उहाँको भनाइ छ । यस्तै, दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम समेत छिट्टै शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई अर्धजलाशयुक्त प्रकृतिका आयोजनामा अगाडि बढ्न आफूले सुझाव दिएको भन्दै त्यस्ता आयोजनाले मात्रै राष्ट्रिय आवश्यकताको सम्बोधन गर्ने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा भइरहेको बिजुलीको तार भूमिगत गर्ने काम प्रभावकारी हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
शहरको सौर्दय बढाउने तथा तार र पोलरहित बनाउने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्न नसेकेको भन्दै उहाँले आजै निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै पनि कमजोरी हुन नहुने भन्दै उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्थासमेत कडाइका साथ लागू गर्ने घोषणा गर्नुभयो ।
गलत गर्नेलाई कुनै पनि हालतमा छुट नदिने र कुनै पनि प्रकारको सम्झौता नगरिने उहाँको दृढता छ । प्राधिकरणलाई अझै सबल संस्था बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै मिलेर काम गरेको खण्डमा सुविधासमेत क्रमशः वृद्धि हुँदै जाने स्पष्ट पार्नुभयो । उहाँले आफूलाई कार्यकारी निर्देशकका रुपमा पुनः नियुक्ति दिने नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाली जनतालाई धन्यवाद दिँदै सकारात्मक कामका लागि सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राधिकरणको आधिकारिक टे्रड युनियनका संयोजक रामेश्वर पौडेलले प्राधिकरणलाई सक्षम संस्था बनाउन कार्यकारी निर्देशकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस













प्रतिक्रिया दिनुहोस्