काठमाडौं, साउन २९ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय सम्हालेको एक महिना पुग्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै लथालिंग अवस्थामा पुगेको छ । मन्त्री भन्दा प्रधानमन्त्री पत्नी र मन्त्री पत्नी गृह मन्त्रालयमा हावी हुँदा प्रहरी संगठन ध्वस्त हुन लागेको हो ।
प्रहरीमा बढुवा अघि नबढाउने, बढुवा भइसकेका प्रहरी अधिकृतलाई पनि जिम्मेवारी नदिएर ‘बेकामे’ बनाउनेलगायतका गतिविधि गृहमन्त्री खाँणबाट भएपछि दुवै संगठन सुस्ताउन थालेको छ । यत्ति मात्र होइन, उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हुने सरुवा र बढुवा ठाडो हस्तक्षेप गर्न थाल्नुभएको छ । यतिसम्म कि खाँड गृहमन्त्री नियुक्त भएको आज एक महिना पुगेको छ । यसबीचमा उहाँले नेपाल प्रहरीका एआइजीलाई नै कुनै जिम्मेवारी नदिई बेकामे बनाएर राख्नुभएको छ ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार २४ गते एआइजीको सरुवा र पदस्थापन गरेको थियो । गृहमन्त्री खाँणले पदबहालीकै दिन सनकका भरमा सरुवा कार्यान्व्यन नगर्न आइजीपी शैलेश थापा क्षेत्रीलाइ निर्देशन दिई अहिलेसम्म नत मन्त्रिपरिषदबाट निर्णउ उल्ट्याउने काम गर्नुभएको छ नत सरुवा कार्यान्वयन नै गर्नुभएको छ । नेपाल प्रहरीमा आइजीपीपछिको एआइजीलाई नै एक महिनासम्म यसरी अपमानित गरेपछि प्रहरी संगठन झन कमजोर बनेको प्रहरी प्रधान कार्यालयका अधिकृतहरुको भनाई छ ।
अघिल्लो सरकारले एआईजी सहुकलबहादुर थापालाई बढुवा प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति खाँणको चित्त बुझेको छैन । प्रहरी प्रशासन बिभागमै थापा रहेको कारण मोलमोलाईमा सरुवा बढुवा गर्दा कुरा फुस्कने भन्दै पत्नीमार्फत बार्गेनिङ अघि बढाइएको स्रोतले जनताटाइम्सलाई बतायो ।
एआईजी थापा साउन १ गतेबाट विभागमा हाजिर हुने तयारीमा रहनुभएको भए पनि अहिलेसम्म सो जिम्मेवारी सम्हाल्न पाउनु भएको छैन । मन्त्रीको निर्देशनसँगै विभागमा हाजिर हुने तयारीमा रहेका थापाले जिम्मेवारी पाउने अवस्था नरहेको प्रधान कार्यालय स्रोतले बताएको छ । ‘अहिलेसम्म एआईजी थापाले जिम्मेवारी पाउनु भएको छैन । जिम्मेवारी दिन सकिने अवस्था पनि छैन, गृहमन्त्रीले हुँदै हुन्न भन्नुभएको छ,’ प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एक अधिकृतले जनताटाइम्ससँग भने ।
गृहमन्त्री खाँणको निर्देशनसँगै जिम्मेवारीबिहीन हुनभएका थापा अहिले दैनिक प्रहरी हेडक्वार्टर गएर हाजिर लगाएर फर्कने गरेको पनि ती अधिकृतले बताए । एक महिनादेखि जिम्मेवारीबिहीन बनाइएका एआइजीको बिषयमा गृहमन्त्री खाँण कुरा गर्नसमेत तयार नभएको स्रोतको भनाई छ । भर्खर बढुवा भएका एआईजी थापालाई पदस्थापन नगर्न निर्देशन दिँदा गृहमन्त्री खाँणले एकै दिन सरुवा गरिएका अरु चार एआईजीको सरुवा पनि तत्काल नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको थियो । अघिल्लो सरकारले असार २४ गते निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पाललाई अपराध अनुसन्धान विभाग सरुवा गरी सो कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी प्रद्युम्न कार्कीको सरुवा गरेको थियो ।
यस्तै अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत विभागका एआईजी निरज शाहीलाई कार्य विभागमा सरुवा गरिएको थियो । पदबहाल गरेलगत्तै गृहमन्त्री खाँणले यी सरुवा तत्काल कार्यान्वयन नगराउन आदेश दिनुभएको थियो । सो आदेशको कारण प्रहरी संगठन निकै ठूलो संकटमा पुग्न लागेको छ ।
एआइजीमाथि यति धेरै अपमान गर्नुभएका गृहमन्त्री खाँणले सईको बढुवामा पनि ठूलै चलखेल गर्नुभएको प्रधान कार्यालय स्रोतले जनताटाइम्सलाई बतायो । हरेक पोष्टमा सरुवा र बढुवा गर्दा मन्त्रीले पत्नीको लिष्ट अनुसार गर्न भन्न थालेपछि सवैतिर भताभुंग भएको र सईबाट इन्सपेक्टर बढुवा गर्दा सिनियरलाई फालेर जुनियर र कार्यसम्पादनमा पनि निकै कमजोरलाई बढुवा भएका छन ।
मन्त्रीकै हस्तक्षेपले साउन ७ गते निकालिएको ९८ जना सईबाट इन्सपेक्टर बढुवाको सूचीमा कनिष्टले अवसर पाएका हुन । वरिष्ठ सई (२०६१ सालमा सई भएकाहरु)लाई समेत उछिनेर कनिष्ठ सई (२०६३ सालमा सई भएका) हरु गृहमन्त्री पत्नीको रोजाइमा परेर बढुवा भए ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृहमन्त्रीले पत्नीले बनाएको लिष्ट दिएपछि सिनियरलाई छाडेर जुनियरलाई बढुवा गर्न प्रहरी नेतृत्व बाध्य हुनुपरेको छ । लिष्टकै आधारमा आफूभन्दा सिनियर २ सय जनाभन्दा बढीलाई उछिनेर २०६३ माघ २९ गते सई भएकाहरु इन्स्पेक्टरमा बढुवा भएका छन ।













प्रतिक्रिया दिनुहोस्