जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १०:५५

कुलमानबिरुद्ध हितेन्द्रको रिट कुमार रेग्मीको इजलाशमा


काठमाडौं, भदौ २ । कुलमान घिसिङको नियुक्ति बदर गरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न दिने मागसहित सर्वाेच्च अदालत जानुभएका हितेन्द्रदेव शाक्यको रिटमाथि अदालतमा आज सुनुवाइ हुँदैछ । सोमवार अदालत जानुभएका शाक्यको मुद्दाको पेसी आज न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमानको नियुक्ति गैरकानूनी भएको दावीसहित सोमवार रिट दायर गर्नुभएको थियो । रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै शाक्यले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गर्नुभएको छ ।

आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यको जिकिर छ । शाक्यले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने भन्दै आफ्नो पक्षमा अन्तरिम आदेश माग गर्नुभएको छ । रेग्मीको इजलाशले आज यस बिषयमा निर्णय लिनेछ ।