काठमाडौं, असार २६ । गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रतिनिधि सभाको बैठकमा सांसदले नियमापत्ति गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा मुगुका गणेश नेपालीको मृत्यु प्रकरणबारे जानकारी दिन सभामुख डोलप्रसाद अर्यालले गृहमन्त्री गुरुङलाई समय दिनुभएको थियो । तर, गृहमन्त्री गुरुङ सांसदहरूलाई नै हप्काउने गरी बोल्नुभयो ।
‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो । तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमारु घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन,’ आफू अस्पताल नै पुगेको भन्दै सांसदहरूलाई हप्काउँदै गृहमन्त्री गुरुङले भन्नुभयो ।
यसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले नियमापत्ति गर्नुभएको हो । गृहमन्त्री गुरुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको शर्माले बताउनु भयो । राज्य आफैले गरेको हत्याको जिम्मा लिने भन्दा सांसदलाई हप्काउने काम गरेपछि उहाँ आक्रोशित बन्नुभयो । ‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो,’ शर्माले भन्नुभयो ।
गृहमन्त्री गुरुङले सदनको अपमान गरेको शर्माले बताउनु भयो । ‘सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति, संसद्प्रति जिम्मेवारी मन्त्रीले गरेको अपमानको रुपमा मैले यसलाई बुझेको छु,’ शर्माले भन्नुभयो, ‘यसलाई संसदको रेकर्डबाट हटाइयोस्।’
सांसद शर्माले आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसद्मा प्रस्तुत हुन र सांसदहरूका प्रश्नलाई जिम्मेवारीपूर्वक जवाफ दिन पनि चेतावनी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्