काठमाडौं, भदौ ३ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीबाट केही मानिस बाहिरँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुँने बताउनुभएको छ । जनताबाट पटकपटक अनुमोदित भएको पार्टीबाट कोही बाहिरिँदैमा एमाले समाप्त पार्ने योजना सफल नहुने महासचिव पोखरेलको भनाई छ ।
माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो । पार्टीबाट केही मानिस बाहरिनुलाई पार्टी फुटेको भन्न नमिल्ने पोखरेलको आशय छ । ‘नेकपा (एमाले) मुलुकमा आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी हो, भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुद्धै यसले आफूलाई यिनै उद्देश्यमा अगाडि बढाउँदै आएको छ, यो नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी हो, त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा अपिल जारी गर्दै भन्नुभएको छ ।
केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उहाँले अपिल गर्नुभएको छ । एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिष्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक कालो धब्वा लगाउने घृणित र निन्दनीय काम माधव समूहबाट भएको पोखरेलले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘दुःखका साथ भन्नुपर्दैछ’यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’
पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष केपी शर्मा ओलीलगायतले गरेका प्रयासबीच नै अपराधपूर्ण काम भएको उल्लेख गर्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउन गरिएका समझदारी र लचकतालाई कुल्चने काम भएको लेख्नुभएको छ । महासचिव पोखरेलले अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको ठोकुवा पनि गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्