महेन्द्रनगर, भदौ ५ । कांग्रेस निकट नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक हुनुहुन्थ्यो । दरबन्दी मिलानपछि उहाँ उक्त विद्यालयको शिक्षक मात्रै रहनुहुने भएको छ । प्रावि तहका शिक्षक भएपनि लामो समयदेखि माविलाई प्रअ भइ सञ्चालन गरिरहेको अवस्थामा दरबन्दी मिलापछि शिक्षकमा मात्रै सीमित हुनुपर्दा उहाँ आन्दोलनमा होमिनुभएको हो । यतिमात्रै होइन, सामुदायिक विद्यालयका शिक्षक भएर उहाँले महेन्द्रनगर बजारमै निजि विद्यालय सञ्चालन गरिरनुभएको छ ।
उहाँले महेन्द्रनगरको कटानमा वेस्टर्न पब्लिक एकेडेमी सञ्चालन गरिरहनुभएको छ । आफु निजि विद्यालयमै व्यस्त रहने मल्लको दरबन्दी मिलान विरुद्ध सबैभन्दा चर्को नारा छ, ‘नगरपालिकाले मापदण्ड विपरित दरबन्दी मिलान गर्यो भन्ने गुनासो छ ।’ शिक्षक संघकै नेता रहनुभएको अर्को देव वहादुर खाती प्रावि तहका शिक्षक हुनुहुन्छ । उहाँले लामो समयदेखि बैजनाथ आधारभुत विद्यालय वनकट्टी प्रअ भएर उक्त विद्यालय चलाउनुभएको थियो । उक्त विद्यालयमा निमावि तहको स्थायी शिक्षकको दरबन्दी मिलान भएपछि उहाँ शिक्षक मात्रै कायम हुनुभएको हो ।
शिव ज्ञानेश्वर आधारभुत विद्यालयका प्रअ रहनुभएको गणेश ऐर पनि प्रावि तहको शिक्षक भइ लामो समयदेखि निमावि तहलाई हाक्दै आउनुभएको थियो । पछिल्लो पटक दरबन्दी मिलानपछि उहाँ शिक्षक मात्रै रहनुभएको छ । ‘दरबन्दी मलानले धेरैको प्रअ पद खोसिएको छ त्यहि भएर रुवाबासी चलेको हो,’ लामो समयदेशि अध्यापन पेशामै रहेका एक शिक्षकले भन्नुभयो, ‘खाइपाइ आएको सुविधा र विद्यालयमा पढाउने भन्दा राजनीति गर्न सजिलो थियो, अब प्रअ फेरिएपछि त यो नहुन सक्छ भन्ने डर हो ।’
उहाँका अनुसार तल्लो तहको शिक्षक माथिल्लो तहमा प्रअ हुदा कार्य सम्पादन मुल्यांकन देखि विद्यालय र शिक्षकको वृत्ति विकास समेत प्रभावित भएको छ । कांग्रेस निकट शिक्षक संघका ८ जना शिक्षकहरु प्रअबाट शिक्षक तथा माथिल्लो तहबाट तल्लो तहमा प्रअ हुनुभएको छ । आफुले चलाउदै आएको प्रअ पद खोसिएकै कारण उहाँहरु आन्दोलनमा उत्रिनुभएको हो । उहाँहरुले आफु अनुकुल दरबन्दी मिलान नभएकोमा बढी इश्र्या पोख्नुभएको हो । आन्दोलनमा सबैभन्दा बढी आदर्श र कार्यविधिका कुरा गर्ने शिक्षक संघका जिल्ला सचिव नविनसिंह धामी राहत शिक्षक हुनुहुन्छ ।
उहाँ जिल्लामा चल्ने मेला महोत्सव र सांस्कृतिक कार्यक्रममै बढी व्यस्त बन्नुहुन्छ । खाली भएका बेला पनि उहाँ विद्यालय भन्दा रेडियो कार्यक्रम सञ्चालन आदीमा बढी व्यस्त हुनुहुन्छ । भीमदत्त नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलानले लामो समयदेखि तल्लो तहको शिक्षकले माथिल्लो तहको विद्यालय चलाउँदै आएको समस्या समाधान भएको बताउनुभयो । यसले विद्यालय र शिक्षकको कार्य सम्पादनको मुल्यांकन समेत अब राम्रो हुने सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्