जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार ०७:२७

लुम्बिनीमा दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालको पार्टी थप कमजोर


बुटवल, भदौ १० । दोस्रो तहका नेतासमेत नेकपा एमालेमै रहेपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ । उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायतका जनाधार भएका नेता एमालेमै रहने निधो गरेपछि समाजवादी लुम्बिनीमा माधवलाई थप घाटा हुने भएको हो । यद्यपि नेपाल पक्षमा खुलेका धेरैजसो नेता नयाँ पार्टीमै रहेने दाबी गरिएको छ ।

अन्तरसंघर्षकै बेला रुपन्देही एमालेमा समानान्तर कमिटी गठन भएको थियो । समानान्तर कमिटीका अध्यक्ष तथा समाजवादी पार्टीमा खुलेका राजु गुरुङले नयाँ पार्टी कमजोर नरहेको दाबी गर्नुभयो । उहाँले दोस्रो पुस्ताका नेता घनश्याम भुसालका कारण केही कार्यकर्तामा असर पर्ने भए पनि त्यतिधेरै समस्या नहुने बताउनु भयो । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सात केन्द्रीय नेताले नयाँ पार्टीमा सनाखत गरेका छन् । नेता सोमप्रसाद पाण्डेले सनाखत गरेपनि प्रमाणित भइसकेको छैन ।

सनाखत गर्नेमा नेता मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाक्री, भागवत नेपाली र प्रमेशकुमार हमाल हुनुहुन्छ । गुल्मीमा गोकर्ण विष्टका कारण धेरै नेता एमालेमै अडिन सक्ने अनुमान गरिएको छ । पाल्पाका सोमप्रसाद पाण्डे अन्तिममा नेपालको नयाँ पार्टीमा खुलेकाले नेपाल पक्षमा केही नेता बस्ने आँकलन गरिएको छ ।