जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १२:५९

पौडेल पक्षको सकियो बैठक, देउवालाई दबाब दिँदै


काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आउनुभएको पौडेलले अहिले प्रधानमन्त्री देउवासँग भेट गर्ने समय मिलाउनुभएको छ ।

आजै विहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछ

आजै बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको कांग्रेसको संस्थापन इतर समूहको बैठकको निर्णयानुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लागेको नेता डा. मीनेन्द्र रिजालले बताउनुभयो । बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागानुसार छिटो क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न देउवालाई दबाब दिने निर्णय भएको छ ।

उहाँले भन्नुभभयो, ‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्नेछ । त्यसैले यी व्यावहारिक कठिनाइहरूलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । त्यही निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनुभएको छ । भरे भेटेर कुरा गर्नुहुन्छ । मलाई विश्वास छ, जस्तोसुकै कठिनाइका बाबजुत् पनि ती समस्याहरू समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ ।’