जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार २१:१७

आगामी निर्वाचनमा एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ – अध्यक्ष ओली


काठमाडौं, १२ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गर्नुभएको छ । एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

आज नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको दावी गर्नुभयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो , “म सुन्दै छु– मोर्चाबन्दी गर्छन रे , एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन, सबैलाई थाहा छ ।

त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे , एक एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जनजति नै त भयो होला नि, होइन ?एक-एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १२० होइन ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नामसमेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरू कुरामा लड्न सक्नुहुन्छ, काममा होइन । मैदानमा होइन, व्यवहारमा होइन ।”

अध्यक्ष ओलीले माधवकुमार नेपाललगायत केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको दोहो¥याउनुभयो । “अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु– एक–दुइटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन,” उहाँले भन्नुभयो , “एक दुईटा पात पहेँलिएर झर्छन् ।

रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालिहाल्छ नि । देख्नु भएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दै छन् । युवाहरू कसरी जाग्दै छन् । नयाँ–नयाँ पालुवाहरू पलाउँदै छन् । नयाँ–नयाँ हाँगाहरू हाल्दै छन् । अझै मजबुत् वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदै छ ।” उहाँले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाइएको पुनः उल्लेख गर्नुभयो । आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समते दिनुभयो ।