रमेश सुवेदी / काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहार बुबाको जस्तै भएको बताएका छन् । नेपाल–भारत दुईवटा मैत्रीपूर्ण खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले कुवेती नागरिक अब्दुल्लाह प्रशिक्षक रहे पनि उनले गर्ने व्यवहार बुबाको जस्तै भएको बताउनुभएको हो । ‘अब्दुल्लाहसँग अभ्यास गरेको पाँच/छ महिना भयो । अब्दुल्लाह कोच मात्र नभएर बुबा जस्तो हुनुहुन्छ’, अब्दुल्लाहको विषयमा कप्तान किरणले भन्नुभयो ।
कप्तान किरणले आफ्नो १३ वर्षदेखिको अनुभवमा अन्य प्रशिक्षकभन्दा अब्दुल्लाह फरक रहेको र खेलाडीलाई गर्ने व्यवहार निकै राम्रो रहेको प्रतिक्रिया दिनुभएको हो । नेपाल र भारत भोलि र २० भदौमा दुईवटा मैत्रीपूर्ण खेल खेल्दै छन् । दशरथ रंगशालामा हुने दुवै खेल साँझ साढे ५ बजे सुरु हुनेछन् । कप्तान किरणले फिफा डेमा हुन लागेको यस प्रतियोगिताको नतिजाले धेरै महत्त्व राख्ने र टोलीको कमीकमजोरी पत्ता लाग्ने बताउनुभयो ।
‘यो खेलबाट हामी कहाँ छौँ ? कमजोरी र सबल पक्ष पत्ता लगाउन यो खेल महत्त्वपूर्ण छ । भोलिको खेल एकदमै कठिन र महत्त्वपूर्ण छ’, किरणले भन्नुभयो । भारतविरुद्ध मैदान उत्रँदै गर्दा कप्तान किरण नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बराबर गर्दै छन् । किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान बराबर गर्न लागेका हुन् । कप्तान विराजले थ्री नेसन्स कपको फाइनल खेल्दै सर्वाधिक क्याप आफ्नो नाममा राख्नुभएको हो । भारतविरुद्ध हुने दुवै खेल खेले किरणले सो कीर्तिमान आफ्नो नाममा लेख्नेछन् ।
यस्तै, किरणले प्रशिक्षकबाट उत्प्रेरित भएको र खेल्न आत्मविश्वास पनि बढेको प्रतिक्रिया दिनुभयो । कप्तान किरणले नेपाली टोलीको प्रतिनिधित्व गर्नु गर्वको कुरा रहेको र १८ वर्षमा राष्ट्रिय टोलीबाट डेब्यु खेलमा घाइते हुँदा आफ्नो खेल जीवन सकिएझैँ भएको स्मरण गर्नुभयो । ‘राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु गर्वको कुरा हो । १८ वर्षमा डेब्यु गर्दा म घाइते भएको थिएँ । मलाई करियर सकिएजस्तो लागेको थियो तर मैले लडिरहेँ, जसका कारण इतिहास लेखिँदै छ ।’
प्रतिक्रिया दिनुहोस्