काठमाडौं, १७ भदौ । अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताउनुभएको हो । मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताउनुभएको हो ।
सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गर्नुभएको हो । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन् ।’
आज प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्