काठमाडौं, भदौ १८। नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरमा कांग्रेसको जमानत जफत गरेर देखाइदिने बताउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगर संगठन कमिटी भक्तपुरको प्रथम नगरकमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार बस्नेतले एमालेको कोही प्रतिस्पर्धी नभएको बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता दुर्लभ थापालाई हराएर देखाउन दिएको चुनौतीको जवाफ दिँदै कांग्रेसलाई जमानत जोगाएर देखाउन उहाँले चुनौती दिनुभयो ।
यस अघि शुक्रबार भक्तपुरको कटुञ्जेमा देउवाले आफूलाई होइन दुर्लभलाई हराएर देखाउन बस्नेतलाई चुनौती दिनुभएको थियो । उहाँले दुर्लभलाई मात्र होइन कांग्रेस सोलोडोलोलाई हराएर देखाइदिने बताउनुभयो । ‘कांग्रेस त भक्तपुरमा प्रतिस्पर्धी पार्टी होइन, प्रतिद्वन्दी पार्टी मात्र हो, भक्तपुरमा कांग्रेसको जमानत जफत हुन्छ’ उहाँले भन्नुभयो ।नेपाली कांग्रेस विकास विरोधी पार्टी भएको पनि उहाँले प्रष्ट पार्नुभयो । हनुमन्ते करिडोर निर्माणमा समेत कांग्रेसका केही नेताले अवरोध पुर्याएको उहाँले बताउनुभयो ।
उहाँले कांग्रेसमा कुनै पनि हालतमा सहकार्य नहुने बताउनुभयो । ‘कांग्रेसलाई हामी देखाइदिन्छौँ, आउने चुनावमा कांग्रेसको १० हजार भोट नाघ्न दिँदैनौँ, एमालेले ५० हजार भोट नघाएर चुनाव जित्छ’, बस्नेतले भन्नुभयो ।उहाँले कसैको आलोचनादेखि नडराउन पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सही प्रश्नको सही जवाफ दिनु पर्ने तर गलत प्रश्नको जवाफ दिएर नसकिने बस्नेतले बताउनुभयो ।उहाँले एमाले जनताको बीचबाट जनताको मुद्दा बोकेर हिँड्ने पार्टी भएको बताउँदै नेता कार्यकर्तालाई जनताकै बीचमा रहन आग्रह गर्नुभयो ।
माधव नेपालहरु एमालेलाई धोका दिएर गएकोले अब उनीहरुलाई एमालेमा कुनै स्थान नभएको बताउनुभयो ।माधव नेपालको पार्टीलाई भक्तपुरको सूर्यविनायकमा २ सय मत ल्याएर देखाउन उहाँले चुनौती दिनुभयो । सूर्यविनायक नगरपालिकाको सबै वडा आउने स्थानीय निर्वाचनमा एमालेले जितेर देखाउने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्