ताप्लेजुङ, २१ भदौ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा दुर्लभ वन्यजन्तु सालक अस्वास्थ अवस्थामा फेला परेपछि उद्धार गरिएको छ । सालकको उद्धार गरी जङगलमा छाडिएको छ । वडा नम्बर ५ चाँगेका वडाध्यक्ष सन्तोष लिम्बूले सालक फेला पारेका हुन् । सालक दुर्लभ संरक्षित वन्यजन्तुमा पर्ने इन्डियन पेङ्गोलिन प्रजातिको भएको दोभान सव डिभिजन वन कार्यालय चाँगेका फरेस्टर ध्वनीरामसिंह कुशवाहाले बताउनुभयो ।
कुशवाहाका अनुसार खैरो रङ, १८ इन्च लम्वाई भएको उक्त सालकलाई चाँगेस्थित मलेनी टुटेबर सामुदायिक वन क्षेत्रमा छोडिएको छ ।वडाध्यक्षसहितका जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, समाजका अगुवासमेतको उपस्थितिमा सालकलाई सकुशल जङगलमा छोडेको दोभान सव डिभिजन वन कार्यालयले जनाएको छ ।
अवैध चोरी शिकारका कारण सालकलगायत दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यस्ता वन्यजन्तुको संरक्षण गर्नुपर्ने विषयसँग सम्बन्धित सचेतनामुलक जानकारी समेत स्थानीय सरोकारवालालाई गराइएको थियो । विश्वभर आठ प्रजातिका सालक पाइने र नेपालमा भने संकटापन्न अवस्थाको कालो सालक, खैरो र लोपोन्मुख तामे सालक पाइने गर्दछ ।













प्रतिक्रिया दिनुहोस्