जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार ०९:०४

माधवलाई ठूलो झड्का, एमालेमै फर्किए माधवतिर लागेका प्युठानका प्रभावशाली नेता


प्युठान, असोज १ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाल्नुभएका प्युठानका पुराना नेता धनबहादुर रायमाझी एमालेमै फर्किनुभएको छ । एवं माधव समूहको संगठन निर्माणमा लाग्नुभएका संविधानसभा सदस्यसमेत रहनुभएका रायमाझी पार्टी छाडन नसकिने भन्दै एमालेमा फर्कनुभएको हो ।

रायमाझीलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमैलगायतका नेता कार्यकर्ताले भेट गरी एमालेमै फर्कन सहमत गराउनु भएको हो । नेता तथा कार्यकर्ता टोलीको भेटमा नेता रायमाझीले नेकपा एमालेको नीति तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई छोड्न नसकिने बताउँदै एमालेमा रहने स्पष्ट पार्नुभएको छ ।

‘जहाँ जबज छैन त्यहाँ कुनैपनि अर्थमा बस्न सकिँदैन’, रायमाझीले भन्नभयो । उहाँले समाजवादीमा लागेका एक जनालाई पनि नछोडी मूल घरमै फर्काउने बताउनु भएको छ । रायमाझीले २०५९ देखि २०६५ सम्म एमाले प्यूठानको तत्कालीन पार्टी सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अहिले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । मुल नेता रायमाझी नै एमाले फर्किएपछि माधव समुह आश्चर्यमा परेको छ ।