जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १७:५८

सरकार कालो धनलाई सेतो बनाउने अभियानमा लाग्यो : महेश बस्नेत


भक्तपुर, असोज ११ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकार कालो धनलाई सेतो बनाउने अभियानमा लागेको भन्दै कडा आपत्ति जनाउनु भएको छ । नेकपा एमाले सूर्यविनायक नगर संगठन कमिटीको कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता बस्नेतले सरकारले सुनियोजित योजना बनाएरै प्रतिस्थापन विधेयकमार्फत कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै कडा आपत्ति जनाउनु भएको हो ।

अध्यादेशमा रहेका प्रावधानले गैरकानुनी रूपमा देशभित्र वा बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तिबाट भ्रष्टाचार वा कर छली गरी लुकाइएको कालो धनलाई वैध बनाउन सहयोग पुग्ने बस्नेतको भनाई छ । ‘दुई वर्षसम्म गर्ने लगानीमा कुनै स्रोत नखोज्ने भनेपछि त, विभिन्न ठाउँबाट ल्याउन खोजेको कालो धनलाई सेतो बनाउने अभियानमा सरकार लाग्यो, अध्यादेशका प्रावधानले भोलि देशलाई कालो सूचीमा राखिदिन सक्छ,’ बस्नेतले भन्नुभयो ।

सरकारका कारण सिंगो देशले क्षति भोग्नुपर्ने भन्दै उहाँले यस्ता कुरामा एमाले गम्भीर रहेको बताउनु भयो । ‘सरकारले भ्रष्टाचारलाई संरक्षण गर्न खोज्दैछ, कालो धनलाई संरक्षण गर्न अनेक काम गरिरहेको छ, विकास आयोजना काटिरहेको छ, पदक दिँदा कसैका बाउलाई कसैका छोरीलाई दिएको छ,’ बस्नेतले भन्नुभयो । सरकारका यी जनविरोधी कदम विरुद्ध एमालेले सशक्त रुपमा आवाज उठाउनुपर्ने बस्नेतले बताउनुभयो । वर्तमान सरकार विकास विरोधी सरकार भएको तथ्यसमेत उहाँले राख्नुभयो ।