जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १९:०१

१ अर्ब ३३ लाखको मुद्धा : चुडामणि सँग धरौटी मागियो जम्मा ५० लाख


काठमाडौं, ११ असोज । झण्डै साढे एक अर्ब रूपैयाँ कर छुट गरेको मुद्दामा तत्कालिन कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा चलाएको थियो । शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बेला कर फर्स्यौट आयोग गठन भएको थियो । र, उहाँ आयोगको सदस्य सचिवले करदातालाई एक अर्ब, ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको अख्तियारले अनुसन्धानमा भेटाएको थियो ।

२०७४ साउन १ गते पनि शर्मासहित आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्धा दर्ता भएको चार वर्षपछि विशेष अदालतले ५० लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । शर्मा आजै बिशेष अदालतमा हाजिर हुनुभएको थियो । अदालतमा उपस्थित भएर शर्माले बयान दिनुभएको थियो ।