जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १५:१५

सेयरबजारमा उच्च गिरावट, ७० अंकले घट्यो नेप्से


काठमाडौं, असोज १२ । साताको तेस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावटले निरन्तरता पाएको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से ७०.०१ अंकले घटेको छ। आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको छ। आइतबार ६१.२७ अंकले ओरालो लागेको नेप्से सोमबार ७३.०५ अंकले घटेको थियो।

आज ७०.०१ अंकले घटेसँगै नेप्से २६१५.४० विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार आज नेप्सेमा कारोबार पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। कूल १८६ वटा कम्पनीमध्ये १० वटाको मात्र सेयर मूल्य बढेको र बाँकी १७३ कम्पनीको मूल्य नकारात्मक बनेको थियो।

आज कूल एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर ७५ हजार ३७४ पटक खरिद–बिक्री भएका थिए।