दोहा, असोज १३ । कतार एयरवेज समूहले सन् २०२०/२१ को आफ्नो बार्षिक प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड–१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको छ । कतार एयरवेज समूहले आफ्नो कूल घाटा कतारी रियाल १९.९ बिलियन (अमेरिकी डलर ४.१ बिलियन) देखाएको छ ।
यसमध्ये कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन) को कारकका रुपमा एयरलाइन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउन्डिङ सम्बन्धी एक पटकको हानी शुल्क रहेको छ । महामारीका दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ । यो सन् २०१९र२० का तुलनामा ७ प्रतिशतले कम हो ।
साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन (अमेरिकी डलर १.४ बिलियन) का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन) का साथ ईबीआईटीडीएमा उल्लेखनीय सुधार हात पारेको छ । समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तरता दिँदै सन् २०२०/२१ मा आफ्नो बजार अझ विस्तारित गरेको छ ।
महामारी चरमोत्कर्षको रहेको समयमा कार्गोले आफ्नो दैनिक सेवा तीन गुणा भन्दा बढाएर एकै दिनमा १८३ उडान भर्दै सन् २०२० को मे महिनामा रेकर्ड नै राख्न सफल भएको जनाएको छ । कार्गोले पनि माल ढुवानीमा अघिल्लो आर्थिक बर्ष २०१९र२० का तुलनामा २०२०/२१ मा २७,२७,९८६ टन (चार्जेबल तौल) का साथमा ४.६ प्रतिशत बढोत्तरी हात पारेको छ ।
माल ढुवानीमा आएको यो बढोत्तरीका साथै कार्गो यिल्डमा आएको उल्लेख्य बृद्धिले कार्गो वाहकको आम्दानीमा पनि दोब्बर भन्दा बढी बृद्धि भएको छ । समूहको इतिहासमै अहिलेसम्मकै सर्वाधिक कठिन बर्ष झेले पनि आफ्नो बलियो व्यवसायिक आधार मार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गन्तब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पुर्याएको छ ।
अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गन्तव्यमा आफ्नो उडान आरम्भ गरेको छ । समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाइन्ससँग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।













प्रतिक्रिया दिनुहोस्