काठमाडौं, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रेम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथानाम गाली गर्नुभएको छ । भ्रष्टाचार अनुसन्धानको क्रममा अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएपछि आक्रोशित बन्नुभएका मुख्यमन्त्री राउतले आफ्ना मानिसलाई साथमा राखेर अख्तियार प्रमुखलाई फोन गरी धम्क्याउनुका साथै गालीगलौज गर्नुभएको हो ।
प्रमुख आयुक्त राईसँग आपत्तिजनक शब्द प्रयोग गर्नुभएका मुख्यमन्त्री राउतले फोन राखेपछि पनि कार्यकर्तालाई सुनाउन गाली गरिरहेका उहाँसँगै रहेका प्रत्यक्षदर्सीले बताएका छन । सरकार प्रमुखको कार्यालयमा ‘छापामार’ शैलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फायल नियन्त्रणमा लिएको भन्दै राउतले आपत्ति पनि जनाउनु भएको छ । राउतले अख्तियारको तरिका ठीक नभएको बताउनु भयो ।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एउटा स्टेटको प्रमुखको कार्यालय हो । फायल माग्ने एउटा तरिका हुन्छ, ’ राउतले भन्नुभयो । अख्तियारले साइकल खरिदको फाइल छानबिनका लागि नियन्त्रणमा लिएपछि आक्रोसित बन्नुभएका मुख्यमन्त्री राउतले बुधबार अपरान्ह जनकपुरस्थित सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अख्तियारको कार्यशैलीप्रति कडा आपत्ति समेत जनाउनु भयो।
‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ, साइकल खरिदमा कहिंकतै अनियमितता भएको भए कारबाही गर्न म सहयोग गर्न तयार छु । तर, एउटा संस्थालाई नै बद्नाम गराउने किसिमले अख्तियारले गरेको छापामारी सहय हुनसक्दैन,’ मुख्यमन्त्री राउतले भन्नुभयो ।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलको कम्पनी नै नखुलेको र मूल्य पनि फरक राखिएको पाइएपछि अख्तियारले आज छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक छ ।













प्रतिक्रिया दिनुहोस्