काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्ताले पैसा मागेर आफ्नो हालत खराव भइसकेको बताउनु भएको छ । चुनाव खर्चिलो भएकोले सवै पार्टीका उम्मेद्वारले पैसा मागेको भन्दै प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो ।
उहाँले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने पनि बताउनु भयो । वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताउनु भयो । ‘दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ,’ प्रचण्डले भन्नुभयो, ‘हामीले आन्दोलन छेडिदियौँ भने पुग्छ । आन्दोलन हुन्छ । लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ । थोरै मिहिनेत गर्यो भने रंगीन क्रान्ति गर्न सकिन्छ । यो प्रणाली बदल्न सकिन्छ ।’
वर्तमान निर्वाचन प्रणालीले आफ्नो हालत खराब भइसकेको उनको भनाइ थियो । ‘हाम्रो हालत खराब भइसक्यो । अध्यक्षको हालत खराब भइसक्यो । अध्यक्षबाट पैसा लाने मात्र छन् । सबै अध्यक्षसँग माग्ने । दिने कोही छैन । गाउँपालिकामा चुनाव लड्न २०/३० लाखचाहिँ हालियो । प्रदेशमा एक दुई करोड दिनुपर्यो । संघमा पाँचदेखि १० करोडसम्मै पर्ने भयो । यसका लागि दलाल पुँजीपतिसँग माग्न जाने अब ? २०६४ मा पैसा खर्चै भएन । अहिले पैसा खर्च गरेर पनि जितिने अवस्था छैन । शासन प्रणाली नै ठीक छैन,’ प्रचण्डको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्