जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १९:१४

दशैँ अगावै पत्रकारका सबै तलव-भत्ता उपलब्ध गराउन महासंघको माग


काठमाडौं, १४ असोज । नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्ध गराउन माग गर्नुभएको हो ।

‘नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू कोरोना मारमा पर्नुका साथै तलबविहीन हुनुपर्दाको पीडा छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन,’ उहाँले भन्नुभएको छ,‘संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’

महासंघले कोरोना संक्रमणको बहाना बनाई विभिन्न संचारगृहमा श्रमजीवी पत्रकारलाई निश्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब(भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध पटक–पटक सम्बन्धित संचारगृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै गरेकाले पत्रकारका समस्या थप जटिल बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका संचारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउनसमेत महासंघको आग्रह छ । पीडित पत्रकारले अघि बढाएका मागहरूको हालसम्म पनि संचारगृहबाट सुनुवाइ हुन नसकेकामा खेद व्यक्त गर्दै समयमै ती समस्याको सुनुवाइ नभए महासंघको निर्णय र समन्वयमा १७ असोजपछि संघर्षका थप कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।