जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १५:००

एमाले नभएको भए मुलुकमा संविधान बन्दैन थियोः प्रदीप ज्ञवाली



काठमाडौं, १५ असोज । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गर्नुभयो । ललितपुरको गोदावारीमा जारी नेकपा एमाले प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेको अग्रणी भूमिका नभएको भए संविधान कार्यान्वयनसमेत नहुने बताउनुभएको हो ।

‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो। एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’ उहाँले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेकपा एमाले राष्ट्रिय राजनीतिमा घरको धुरी जस्तै हो। जसमा सबै संरचनाहरु अडिएको छन्। राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’ महाधिवेशन कार्यक्रममा बोल्दै उनले एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी भएको पनि जिकीर गर्नुभयो ।