काठमाडौं, असोज १५ । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबिरुद्ध छानविन गर्दा गठणतन्त्र नै धरापमा पर्ने तर्क गरेको छ । प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा) ले यस्तो तर्क अघि सारेको हो ।
साइकल खरिदमा भ्रष्टाचार भएको प्रमाण पाएपछि अख्तियारले बुधवार मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । जसपाले सो काम गणतन्त्र र संघीयताबिरुद्धको षडयन्त्र भन्दै भ्रष्टाचारको पक्षमा संस्थागत रुपमा उभिएको छ । उस्ले राजनीतिक पूर्वाग्रहको आधारमा छापा मारेको आरोप समेत लगाएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य गरेको भन्दै जसपाले अत्यन्तै आपत्तिजनक र दूराशयपूर्ण भन्ने आरोप पनि लगाएको छ ।
जसपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरु प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपा घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’ जसपाले अख्तियारको यस्तो कार्यले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई धरापमा पार्ने ठहरसमेत सुनाएको छ ।














प्रतिक्रिया दिनुहोस्