जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १५:५७

नेपालका टेलिभिजनले ४० लाख तिर्न नसक्दा साफ फुटबल लाइभ हेर्न बन्चित


काठमाडौं, असोज १६ । नेपालका टेलिभिजनले ४० लाख रुपैयाँ तिर्न नसक्दा माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३ औं संस्करण नेपाली दर्शकले टिभीमा लाइभ हेर्नबाट बन्चित भएका छन् । नेपालका टिभीले लाइभ देखाउन नसकेपछि फुटबलप्रेमी नेपालीहरुले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गतको नेपाल र माल्दिभ्सको खेल बिभिन्न सोसियल मिडिया तथा अनलाइन मिडियाबाट लाइभ हेर्न बाध्य भएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको प्रयास असफल भएपछि नेपाली समर्थकले खेल हेर्न नपाउने भएका हुन् । एन्फाले असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्न न्यूनतम ४० लाख रुपैयाँ मूल्य तिर्नुपर्ने सार्वजनिक सूचना निकालेको थियो । तर, तोकेको मापदण्डअनुसार नेपालका टेलिभिजन कसैले पनि प्रस्ताव गर्न नसकेपछि नेपालमा खेलको प्रत्यक्ष प्रशारण नहुने भएको हो । साफअन्तर्गत आज पहिलो खेलमा आयोजक माल्दिभ्ससँग खेलेको नेपालले पहिलो हाफसम्मको खेल बराबरीमा खेलेको छ।

खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ । जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ । ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।