जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १७:५६

दशैँको लागि देवी दुर्गाको मूर्ति बनाउन कारिगरलाई भ्याई नभ्याई


रुद्र सुवेदी / नेपालगञ्ज, १६ असोज । हिन्दु समुदायको महान पर्व बडादशैँ नजिकिँदै गर्दा नेपालगञ्जमा दुर्गाको मूर्ति निर्माणमा मूर्तिकारलाई भ्याई नभ्याई छ । बडा दशैंमा देबी दुर्गाको मूर्ति विभिन्न स्थानमा राखेर पूजाआजा गर्ने चलन भएकोले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डर अनुसारको मूर्ति बनाउन नेपालगञ्ज–८ का छोटु केवटलाई भ्याई नभ्याई छ । उहाँ दशैं नजिकिएसँगै दुर्गा लगायतका मूर्ति बनाउनमा व्यस्त हुनुहुन्छ ।

दशैँ आउन लगभग हप्ता बाँकी रहँदा उहाँले अहिले ९ वटा मूर्ति तयार गरिसक्नुभएको छ भने २ वटा बनाउने तयारीमा लाग्नुभएको छ । अहिले उहाँसँगै ४ जना कामदारले मूर्ति निर्माण गरिरहेका छन् । ११ वर्षको कलिलो उमेरमा मूर्ति बनाउने काम सिक्न उहाँ भारत पस्नुभएको थियो । ७ वर्षसम्म ज्यालामा काम गर्नुभएको उहाँले अहिले आफ्नै ठाउँमा मूर्ति बनाउने काम सुरु गर्नुभएको हो । अहिले उहाँले अरु तीन जनालाई पनि रोजगारी दिनुभएको छ ।

उहाँले बनाउनुभएको मूर्ति २५ हजारदेखि ३० हजारसम्ममा बिक्री गर्ने गर्नुभएको छ । ‘दशैं नजिकिएसँगै केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘आफूले जानेको सीप अरुलाई पनि सिकाउने गरेको छु ।’ पहिला बडादशैँ सुरु हुनुअघि भारतबाट मूर्तिकार नेपालगञ्जमा आउने र अर्डरअनुसारको मूर्ति तयार गरी फर्कने गर्थे । तर, अहिले भने नेपालगञ्जमै स्थानीय मूर्तिकारले देवीको मूर्ती बनाउने गरेको नेपालगञ्ज त्रिभुवन चोकका दिपक लखेर बताउँनुहुन्छ ।

सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । यो काम सिजनल भएकाले अन्य समयमा खाली बस्ने गरेको उहाँ बताउनुहुन्छ । मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरीद गरि ल्याउनुपर्ने र मूर्ति बनाउन चाहिने माटो जहाँ त्यहीं नपाइने भएकाले समस्या हुने गरेको पनि मूर्तिकार केवट बताउँनुहुन्छ । स्थानीय तहले आफू अथवा आफूजस्ता मूर्ति बनाउने व्यावसायीका लागि कुनै पहल नगरिदिएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘हामीले आफ्नै घरमा बसेर मूर्ति बनाउँदा स्वरोजगार हुँदै रोजगारी पनि सिर्जना गरेका छौं । हामीलाई आवश्यक पर्ने चेम्टिलो र लेसाइलो माटो, पराल, काठको जोहो गर्न कठिन हुने गरेको छ । त्यो उपलब्ध गराउन स्थानीय तहले समन्वय गरिदिए अझ राम्रो हुने थियो ।’ बडा दशैँमा मात्र बाँकेमा करिब १ हजारको हाराहारीमा देवी दुर्गाको मूर्ति स्थापना गरिने अनुमान छ । केही वर्षअघि भारतबाट मूर्ति र कारिगर आफैं आएर बनाउने गर्दथे भने अहिले नेपाली मूर्तिकारले बनाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले यस्ता मूर्ति बनाउने व्यवसायीलाई सूचीकृत गर्ने र तथ्यांक संकलन गर्नेजस्ता काम गर्न नसकेको बताउनुभयो । उहाँले यसको लागि अहिलेसम्म कुनै खालको माग नआएको र उपमहानगरपालिकाले त्यसतर्फ अहिलेसम्म कार्यविधि तथा योजना नबनाएको जानकारी दिनुभयो । वर्षमा एकपटक अर्थात चाडपर्वको बेला मात्र बनाउने भएकाले त्यस्ता व्यवसायीलाई मूर्ति बनाउन बेच्न छुट भएको र त्यस बापतको कुनै राजश्व नलिएको तर, आगामी दिनमा यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने हो भने नगरपालिकाले यस विषयमा सोच्न जरुरी रहेको उप प्रमुख थापाको भनाइ छ ।

नेपालगञ्जमै मूर्ति निर्माण हुनाले भारतबाट खरीद गर्नुपर्ने अवस्थामा केही हदसम्म कमी आएको ग्राहकहरु बताउँछन् । यति मात्र होइन, यसो हुनाले नेपाली रुपैयाँ भारत जानबाट पनि रोकिएको स्थानीय बताउँछन् । घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति दशैंको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ । नेपालगञ्जका प्रत्येक चोकमा दूर्गाको मूर्ति स्थापना गरि पूजा गर्ने चलन पहिलेदेखि नै चलिआएको छ । न्युज कारखाना