वासिङटन, असोज १७ । अमेरिकामा गर्भपतनको अधिकार माग गर्दै हजारौँ मानिसले देशव्यापी प्रदर्शन गरेका छन् । गर्भपतनको अधिकारका समर्थकहरुले गर्भपतनको संवैधानिक अधिकार कटौती हुनसक्ने भन्दै सबै राज्यहरुबाट दबाब स्वरुप प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतमा गर्भपतनको मुद्दाको सुनुवाईको तयारी भइरहँदा केही महिनाअघि देखि नै यहाँ गर्भपतनको पक्षमा र्याली भएको छ । बीबीसीका अनुसार आगामी केही महिनामा सर्वोच्च अदालतमा यस मुद्दाको सुनुवाई हुनेछ ।
आज राजधानी वासिङटन डीसीस्थित प्रदर्शनकारीहरुले ‘गर्भपतनलाई कानूनी बनाऊ’ जस्ता व्यानर बोकेर सर्वोच्च अदालततर्फ मार्चपास गरेका थिए । यसअघि पनि गर्भपतनको अधिकार महिलाहरुलाई हुनुपर्ने भन्दै प्रदर्शन हुँदैआएको थियो । अमेरिकामा गर्भपतनको अधिकारको विपक्षमा पनि आवाज उठ्दै आएका छन् । ‘निर्दोष बालबालिकाको जीवन तिम्रो हातमा छ’ भन्दै केही मानिसहरुले गर्भपतन अधिकार पक्षका प्रदर्शनकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्