जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १४:२६

सेलिब्रेटी सन्तानका ड्रग पार्टी : सेनेटरी प्याडमा लुकाइएको थियो लागूपदार्थ


काठमाडौं, असोज १८ । भारतको मुम्बई नजिकै क्रुज सिपमा भएको ड्रग पार्टी र त्यसमा लागूपदार्थ नियन्त्रण ब्यूरो (एनसीबी) छापा मारेको घटनाले अहिले जताततै चर्चा चलिरहेको छ । उक्त ड्रग पार्टीबाट बलिउडका स्टार अभिनेता शाहरुख खानका छोरा आर्यन खान पनि पक्राउ परेपछि यो घटनाले निकै चर्चा पाइरहेको छ ।

यो जहाज मुम्बईबाट २ अक्टुबरमा गोवाका लागि हिँडेको थियो । यसमा सवार एउटा समूहले ड्रग पार्टी आयोजना गरेको थियो । यसबारे सूचना मिलेपछि एनसीबीको टोली उक्त जहाजमा यात्रु बनेर चढेको थियो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार जहाज समुँद्रको बीचमा पुगेपछि ड्रग पार्टी सुरु गरिएको थियो । एनसीबीको टोलीले सुरुमा हिडेन क्यामेराबाट भिडियो खिच्यो । त्यसपछि पक्राउका लागि सचेत गरायो । त्यसपछि ड्रग सेवन गरिरहेकाले बच्नका लागि हतार–हतार लागू पदार्थ लुकाउन खोजे ।

उनीहरुले लागूपदार्थ लुकाउन यस्तो ठाउँहरु रोजे कि जहाँ एनसीबीका अधिकारहरुले शंका नगरुन, कसैले जुत्तामा, कसैले चस्माको बट्टामा लागू पदार्थ लुकाए । प्रक्राउ परेकी एक केटीले सेनेटरी प्याडमा लागूपदार्थ लुकाएकी थिइन् । केहीले आफ्नो साथमा रहेको लागूपदार्थलाई एनसीबीका अधिकारीहरुको आँखा छलेर फाल्ने प्रयास पनि गरेका थिए ।

शाहरुख छोरा आर्यनले चस्माको बट्टामा लागूपदार्थ लुकाएका थिए । अरबाज मर्चेन्टले जुत्तामा लुकाएका थिए । मुनमुन धमीचाले सेनेटरी प्याडको बीचमा लुकाएको अवस्थामा लागूपदार्थ फेला परेको थियो ।