जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १५:२७

नेप्सेमा सानिमा माई हाइड्रोको शेयर मूल्य


काठमाडौं, असोज १८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेसँगै मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४ सय ६ रुपैयाँ ३६ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४७ रुपैयाँ थियो । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले कार्तिक ११ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।

कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।

त्यस्तै सभामा दशौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणरसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै कम्पनीका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । बोनस शेयर निष्काशन प्रयोजनका लागि जारी तथा चुक्ता पूँजीमा वृद्धि गर्ने, र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ ।