जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १६:४७

३३ किलो सुन तस्करीमा मुद्धिएका सवै प्रहरीले पाए सफाइ, यस्तो छ आरोप प्रमाणित नहुने आधार


काठमाडौं, असोज १९ । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले आज हत्यामा आरोपित ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरी सवै प्रहरी अधिकारीलाई सफाइ दिएको हो ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) हाल विकासराज खनाल रहनुभएको छ । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाउनु भएको छ ।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखिएको बताउनु भयो । दुबईबाट २०७४ माघ ९ मा नेपाल आएको ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती उर्फ गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । शाक्यको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो ¥याकेट’बारेको तथ्य बाहिर आएको हो ।

सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो । समितिको सो काम काबिल प्रहरी अधिकृत फसाउन गरिएको षडयन्त्रको रुपमा त्यसबेलै चर्चा भएको थियो । अदालतले तस्करीमा प्रहरीको संलग्नता नरहेको र अनुसन्धानमा पनि कमजोरी नदेखिएको जनाउँदै सफाइ दिएको हो ।