जनता टाइम्स

२० आश्विन २०७८, बुधबार २२:२१

कांग्रेस-माओवादीले हेपेको समाजवादीको निश्कर्ष, मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी


काठमाडौं, असोज २० । नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयको भागबण्डामा अपमानित गरेको भन्दै माधव नेपाल नेतृत्वको समाजवादीले आपत्ति जनाएको हो । मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४र४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो । सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन्। तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ। मन्त्रालय भागबन्डाबारे फेरि छलफल भएपछि मात्रै पार्टीले मन्त्रीको नाम तय गर्ने नेकपा एसका नेता तथा सांसद जीवनराम श्रेष्ठले बताउनुयो ।

‘४ भने पनि मन्त्री ३ मात्रै पाउने हो, एक जना राज्य मन्त्री मात्रै हो,’श्रेष्ठले भन्नुभयो ‘सम्मानजनक मन्त्रालय भागबन्डाका लागि फेरि गठबन्धन दलमा छलफल हुनुपर्छ।’ एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै भोलि नै मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी प्रभावित हुने देखिएको छ। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एउटा दलले पर्सिसम्म नाम बुझाउने भनेको जानकारी दिनुभयो ।