जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १६:५०

पार्वत-आनन्दको गढमा चलेन माधव–प्रचण्डको कुनै झेल, पहिला भन्दा झनै बलियो बन्यो दोलखा एमाले


दोलखा, असोज २१ । तीन दशक बढी पार्टीको नेतृत्व सम्हाल्नुभएका माधवकुमार नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरए पनि दोलखामा भने पहिला भन्दा झनै बलियो शक्ति बनेर नेकपा एमाले उदाएको तथ्यले स्थापित गरेको छ । माओवादी र एमालेबीच एकीकरणपछि बनेको तात्कालिन नेकपामा रहेका माओवादीका प्रभावशाली नेता–कार्यकर्ता जति सवै एमालेमै रहने अवस्थासँगै गाउँ गाउँका प्रभावशाली नेता एमालेतिर आएपछि बिभाजनको असरमुक्त रही एमाले पहिला भन्दा बलियो बनेको हो ।

दोलखाबाट प्रतिनिधिसभा सदस्य रहनुनभएका एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङको गढ मानिने दोलखामा बागमति प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलसमेत सक्रिय बनेपछि अवकाश लिन लागेका र ब्यापार ब्यवसायतिर होमिएका केही ब्यक्तिले मात्रै एमाले छाडेका छन । एमाले दोलखाका इञ्चार्ज गुरुङ माधव नेपालले पार्टी छाडेर नयाँ पार्टी गठन गरे पनि दोलखामा एमालेको अवस्था कमजोर होइन, झनै बलियो बनेको तथ्य राख्नुहुन्छ ।

गत स्थानीय तहको निर्वाचनमा एमालेबिरुद्ध कांग्रेस र माओवादी गठबन्धन चुनावमा आउँदासमेत ९ मध्ये ७ ओटा स्थानीय तहमा चुनाव जितेको एमालेका सवै पालिका र जिसस प्रमुख–उपप्रमुख एमालेमै रहनुभएको छ भने वडाध्यक्षहरुको अवस्था पनि यस्तै छ । त्यसमाथि नेकपा माओवादीबाट वडाध्यक्ष जित्नुभएका नेताहरु समेत अव एमालेले मात्रै दोलखाको समृद्धिमा योगदान गर्न सक्ने निश्कर्षसहित पद नै दाउमा राखेर प्रवेश गर्न थालेका छन । बुधवार मात्रै जिरी नगरपालिका र बिगु गाउँपालिकाका दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको छ । जिरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र बिगु १ का वडाध्यक्ष हिरण्यबहादुर गुरुङ आफ्नो वडाका प्रभावशाली सवै नेता–कार्यकर्तासहित एमाले प्रवेश गर्नुभएको हो । राष्ट्रिय कलाकार रमन थामीले पनि एमाले रोज्नुभएको छ ।

माओवादी मात्रै होइन, कांग्रेसका नेता–कार्यकर्ता पनि यतिबेला एमालेप्रति नै आकर्षित बनिरहेको एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल बताउनु हुन्छ । यस्तै गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुँगुका माओवादीका हस्तीहरु पनि एमालेमै आइसकेका छन । माओवादी नेतृ देवी खडका र बिशाल खडकाको गढ मानिने जुँगुमा अहिले माओवादी नै दोस्रो शक्तिका रुपमा खुम्चनु पर्ने अवस्था रहेको छ । जुँगुका लोकप्रिय युवा नेता किशोर बस्नेत, हिरा बस्नेत एमालेमा आइसक्नु भएको छ ।

एमाले नेता पार्वत गुरुङको गृहपालिका रहेको कारण आगामी चुनावसम्म सो गाउँपालिकामा माओवादीका एक तिहाइ मानिस मात्रै रहने अवस्था छ । यही अवस्थालाई औल्याउँदै बुधवार चरिकोटमा आयोजित कार्यकर्ता भेलामा पूर्वमन्त्री गुरुङले भन्नुभयो, ‘दोलखामा बिभाजनको असर छैन, हामी पहिला भन्दा पनि बलियो बनेर खडा भएका छौं, त्यसैले एमालेबिरुद्ध सवै मिलेर गठबन्धन बनाए पनि जित्न संभव छैन ।’

सुन्नोस गुरुङको यो घोषणा

‘तान्यो तान्यो आएन, अझै तान्यो आएन, तै पनि हरेस खाएन,’ बिभाजनतिर लागेका नेता कार्यकर्ता फर्काउने योजना सुनाउँदै नेता गुरुङले भन्नुभयो । गुरुङले मात्रै होइन, एमाले बागतिम प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य आनन्द पोखरेलले पनि दोलखामा बिभाजनको कुनै असर नपरेको बताउनु भयो । आगामी चुनावमा एमालेले ९ ओटै स्थानीय तहमा बिजयको झण्डा फहराएर आफूहरुले यो तथ्य स्थापित गर्ने घोषणा गर्नुभयो ।

दोलखाबाट गत स्थानीय निर्वाचनमा डवल पाण्डे जिसस प्रमुख, स्वयमबहादुर खडका गौरीशंकर गाउँपालिका, टंक जिरेल जिरी नगरपालिका, इश्वररचन्द्र पोखरेल तामाकोशी गाउँपालिका, नरबहादुर श्रेष्ठ मेलुङ गाउँपालिका, भरत दुताल शैलुङ गउँपालिका, भरत केसी भीमेश्वर नगरपालिका र बिनकुमार थामी बिगु गाउँपालिका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँहरुसहित जिसस र पालिकाका उपप्रमुख पनि एमालेमै रहनुभएको छ ।

एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले पनि राजनीतिबाट बिदा लिने अवस्थामा रहेका र जनताबाट तिरस्कृत केही ब्यक्तिहरु मात्रै बिभाजनतिर लागेको भन्दै बिभाजनको असर नरहेको तथ्य राख्नुभयो । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको सामू दोलखाका सवै नेतालाई साँक्षी राखेर पोखरेलले भन्नुभयो, ‘दोलखामा बिभाजनको असर एक प्रतिशत पनि छैन, बिगतमा नेकपा हुँदा माओवादीबाट आउनु भएका नेता कार्यकर्ता थपिनु भएको छ, यसअर्थमा एमाले बिगतमा भन्दा झनै बलियो छ, यही तथ्य हो । ’