जनता टाइम्स

७ जेष्ठ २०८१, सोमबार १०:१२

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, घटनास्थलमा छैन जीवनको संकेत


काठमाडौं, जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार हुनुहुन्थ्यो ।

रानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’

अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।

इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् । त्यतिबेलै हेलिकप्टरमा सवार व्यक्तिहरु बाँच्ने सम्भावना कम रहेको आशंका गरिएको थियो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको थियो ।