जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १६:३६

एमालेको मयाल पखालियो, झनै सफा र स्वस्थ भयो : विष्णु पौडेल


काठमाडौँ, २१ असोज । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले माधव नेपाल समूहलाई पार्टीभित्रको फोहोरो मयालको संज्ञा दिनुभएको छ । उहाँले फोहर मयाल पखालिँदा पार्टी झनै स्वस्थ सुन्दर र मजवुत हुने दाबी गर्नुभएको हो । नेकपा एमाले पाल्पा–काठमाडौँ सम्पर्क मञ्चले दशै तिहारको अवसर पारी आज राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहको निर्णयले आफूहरुलाई घाटा नहुने बताउनुभयो ।

आम जनताको चाहना पार्टी एक ढिक्का होस भन्ने नै थियो । तर पार्टी भित्रकै एउटा समूह पार्टीलाई क्षतविच्क्षेत् गराउन चाहन्थ्यो । त्यहि समूह अहिले बाहिरिएको हो । यसले पार्टीलाई घाटा होइन झनै राम्रो र सुध्रिढ बनाएको छ ।

‘पार्टी भित्रको जो फोहर/मयाल थियो । अहिले बाहिरिएको भनेको त्यहि मयाल हो । मयाल बाहिरिदा त मयाल भएको ठाँउ झनै सफा र स्वस्थ पो हुन्छ,’ उहाँले भन्नुभयो । नेता पौडेलले नेकपा एमाले अहिले पनि ठूलो पार्टी भएको र अब आउने निर्वाचन पछि झनै ठूलो हुने दावी गर्नुभयो । उहाँले थप्नुभयो,‘विकास गर्ने र जनताको आशा भएको पार्टी नेकपा एमाले नै हो । जनताले त्यो बुझ्नु भएकै छ । आगामी निर्वाचनबाट हामी ठूलो जनादेश सहित सरकारमा आउनेछौँ ।’